मकवानपुर । मकवानपुरमा ड्रागन फ्रुट खेती र उत्पादन बढ्दै गएको छ । तर सिजन सुरु भएसँगै बजार अभावले किसानहरू समस्यामा परेका छन् । त्यसैले बजारीकरणमा सहयोग गर्न हेटौँडा उपमहानगरपालिकाले ड्रागन फ्रुट महोत्सव आयोजना गरेको छ ।
केही वर्षअघिसम्म विदेशी फल मानिने ड्रागन फ्रुट अहिले मकवानपुरका ५० भन्दा बढी किसानले व्यावसायिक रूपमा खेती गरिरहेका छन् ।
जेठको तेस्रो सातादेखि यसको मुख्य सिजन सुरु भए पनि उत्पादनको सहज बजारीकरण नहुँदा किसानहरू समस्यामा परेका छन् ।
उत्पादन बढ्दै जाँदा बजार विस्तार, थोक खरिदकर्ता र उपभोक्तासम्म पहुँचको अभाव देखिएपछि बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले नेपालमै पहिलो पटक हेटौँडामा ‘ड्रागन फ्रुट महोत्सव’ आयोजना गरिएको छ ।
उत्पादकदेखि उपभोक्तासम्म ताजा र गुणस्तरीय ड्रागन फ्रुट नारासहित सुरु भएको तीनदिने महोत्सवमा विभिन्न जातका ड्रागन फ्रुट प्रदर्शन तथा बिक्रीमा राखिएका छन् । किसानबाटै सस्तो मूल्यमा फल किन्न पाउँदा उपभोक्ता पनि उत्साहित छन् ।
आफूले फलाएको उत्पादन सिधै उपभोक्ताको माझमा पु¥याउन पाउँदा कृषकहरु पनि दंग छन् । उपभोक्ताले बाहिर बजारबाट किन्दा १ केजीकै ५ सयसम्म तिर्नुपर्ने ड्रागन फ्रुट मेलामा कृषकहरुले २६० रुपैयाँमै ए ग्रेडको ड्रागन फ्रुट बिक्री गरिरहेका छन् ।
जिल्लामा छरिएर रहेका ड्रागन फ्रुट उत्पादक किसानहरुलाई एकीकृत गर्ने र बजारीकरणमा सहयोग गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवको अर्को उदेश्य प्रादेशिक कृषि थोक बजारलाई चलायमान बनाउनु पनि हो । बागमती प्रदेश सरकारको ७० र हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण भएको कृषि थोक बजार प्रवद्र्धन गर्ने उद्देश्यले हेटौँडामा पहिलोपटक तीन दिवसीय ड्रागन फ्रुट महोत्सव सुरु गरिएको जनप्रतिनिधिहरु बताउँछन् ।
प्रदेश कृषि थोक बजार सञ्चालक समितिको आयोजनामा सुरु भएको महोत्सवमा हेटौँडा उपमहानगरपालिका र बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत सहकार्य रहेको छ ।
महोत्सव अवधिभर कृषकका उत्पादनलाई बिचौलियामुक्त रूपमा उपभोक्तासम्म पु¥याउने लक्ष्य किसानहरुले लिएका छन् ।
