News 24 Television
गर्मीमा बत्ति छिनछिनमा जाँदा भैरहवाबासी पीडित

रुपन्देही । भैरहवा वितरण केन्द्र अन्तर्गतका उपभोक्ताले विद्युत आपूर्तिमा समस्या भए स्पष्ट जानकारी र समयतालिका माग गरेका छन् । लोडसेडिङ छैन भनिए पनि बारम्बार बत्ति जाने गरेको गुनासो उपभोक्ता गर्छन् । तर वितरण केन्द्रले सिस्टम समस्याको कारण देखाउने गरेको छ । 

मुलुक औपचारिक रूपमा लोडसेडिङमुक्त भएको वर्षौं बितिसक्दा पनि भैरहवावासीले भरपर्दो र गुणस्तरीय विद्युत सेवा पाउन सकेका छैनन् । रुपन्देहीमा कम भोल्टेज, पटक–पटक बत्ति जाने र पूर्वसूचनाविना अवरुद्ध हुने समस्या बढ्दो छ । 

अत्यधिक गर्मीका बेला एसी, पंखा, कुलर र फ्रिजको आवश्यक बनिरहँदा कमजोर आपूर्तिले जनजीवन कष्टकर बनेको छ । भैरहवा र आसपासमा देखिएको अनियमितताले सर्वसाधारण, उद्योगी–व्यवसायी र विद्यालयका विद्यार्थी सबै प्रभावित छन् । कम्प्युटर, प्रिन्टर, फ्रिज र एसीजस्ता उपकरणमा क्षति पुग्ने गरेको छ भने उद्योगका मेसिनरीसमेत प्रभावित बनेका छन् ।

उपभोक्ताहरूले विद्युत प्राधिकरणसँग आपूर्तिमा समस्या भए स्पष्ट जानकारी दिन माग गरेका छन् । लोडसेडिङ छैन भनिए पनि रातदिन पटक–पटक लाइन जाने समस्याले उपभोक्ता पीडित बनिरहेका छन् । 

मर्मत वा अन्य कारणले कटौती गर्नुपरे समयतालिका सार्वजनिक गर्न स्थानीयको माग छ । भैरहवा वितरण केन्द्रले सिस्टम समस्याको कारण देखाउँदै लाइन काट्ने गरेको गुनासो छ ।

भैरहवा र आसपासको तापक्रम ४० डिग्री भन्दा माथि छ । यस्तो बेला अनियमित विद्युत आपूर्तिले यहाँका बासिन्दाले गर्मीको चरम मार खेपिरहेका छन् । यसबाट सर्वसाधारणको दैनिक जीवन मात्र होइन भैरहवा क्षेत्रको औद्योगिक तथा व्यावसायिक गतिविधिसमेत प्रभावित भइरहेको छ । 

यस्तो अवस्थामा प्राधिकरणले छिनछिनमा हुने विद्युत कटौतीको समस्या पहिचान गरी तत्काल तथा दीर्घकालीन समाधानका उपाय खोज्नतर्फ ध्यान दिनुपर्ने देखिन्छ । 

प्रकाशित मिति: शनिबार, असार १३, २०८३  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update