News 24 Television
ग्लोबल आइएमई बैंकले उद्यमशाला कार्यक्रम सञ्चालन गर्ने, उद्यमीबाट आवेदन आह्वान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु, साना र मझौला उद्यम ९एमएसएमई० प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । 

विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रममा बैंकले उद्यमशाला कार्यक्रम सार्वजनिक गर्दै इन्क्युबेसन कार्यक्रमका लागि देशभरका नवप्रवर्तनकारी सोच भएका व्यक्ति तथा उद्यमीबाट आवेदन आह्वान गरेको हो ।

बैंकको प्रधान कार्यालय कमलादीमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै लघु तथा मझौला व्यवसायीहरूले भोगिरहेका साझा चुनौतीलाई सम्बोधन गर्न उद्यमशाला प्रभावकारी प्लेटफर्म बन्ने विश्वास व्यक्त गरे । 

उनका अनुसार विषयविज्ञ, अनुभवी व्यवसायी र प्रशिक्षकमार्फत सहभागीलाई व्यावहारिक ज्ञान, सीप तथा समस्या समाधानका उपाय उपलब्ध गराइनेछ ।

कार्यक्रमअन्तर्गत इन्क्युबेसन र एक्सीलेरेसन गरी दुई चरणमा सहयोग प्रदान गरिने बैंकले जनाएको छ । इन्क्युबेसन कार्यक्रम नयाँ तथा नवप्रवर्तनकारी व्यावसायिक सोच भएका युवालाई लक्षित हुनेछ भने एक्सीलेरेसन कार्यक्रम सञ्चालनमा रहेका तर व्यवसाय विस्तार तथा स्तरोन्नतिमा कठिनाइ भोगिरहेका उद्यमीका लागि केन्द्रित हुनेछ ।

यसमार्फत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण, व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, वित्तीय व्यवस्थापन र बैंकिङ पहुँचलगायत विषयमा व्यावहारिक प्रशिक्षण तथा परामर्श प्रदान गरिनेछ ।

उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापक, साझेदार संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका हाल ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन विदेशी प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन् । 

बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुका साथै विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ । 

प्रकाशित मिति: आइतबार, असार १४, २०८३  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update