News 24 Television
क्षमताभन्दा ९ गुणा बढी ओभरलोड गाडी निर्वाध सञ्चालन

रुपन्देही । निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्डको कामप्रति जनस्तरबाट गुनासो र प्रश्न बढेपछि सरोकारवालाको टोलीले स्थलगत अनुगमन गरेको छ । एसियाली राजमार्गको मापदण्ड र गुणस्तरमा निर्माण गर्ने भनिएको यो खण्डमा पछिल्लो समय गुणस्तरमा प्रश्न उठेको छ । गुणस्तरमा प्रश्न उठेपछि संघीय सांसदसहित स्थानीय सरोकारवालाले निरीक्षण गरी सुधारमा जोड दिएका छन् । 

पश्चिम नवलपरासीको दाउन्ने पश्चिमदेखि बुटवलतर्फको सडक खण्डमा न्युन गुणस्तरको काम भएको भन्दै स्थानीयले प्रश्न उठाएका छन् । स्थानीयको गुनासोपछि निर्माणाधीन बुटवल–दाउन्ने खण्ड अन्तर्गत पश्चिम नवलपरासी क्षेत्रको अगुमन गरिएको छ । 

अनुगमनका क्रममा सडकखण्डको प्राविधिक तथा व्यावहारिक जानकारी लिइएको छ । अनुगमनका क्रममा राष्ट्रिय गौरवको यस आयोजनाको गुणस्तर र बजार क्षेत्रमा देखिएका समस्याबारे स्थानीय जनप्रतिनिधि, प्राविधिक र सुरक्षा निकायबीच छलफल भएको छ । 

पश्चिम नवलपरासी–१ का प्रतिनिधि सभा सदस्य बिक्रम खनालले सडक निर्माणमा कतिपय ठाउँमा व्यवहारिक र कतिपय ठाउँमा प्राविधिक सुधारको आवश्यकता औंल्याए । राष्ट्रको अर्थतन्त्रसँग जोडिएको यो सडक एशियन हाइवेको मापदण्ड अनुसार बन्नुपर्नेमा जोड दिँदै उनले त्रुटी भेटिएको ठाउँमा तत्काल सुधार गर्न सुझाव दिए । 

बुटवल–नारायणगढ सडक आयोजनाका अनुसार कतिपय ठाउँमा सामान्य त्रुटी भए पनि केही ठाउँमा जमिन मुनी धेरै पानी भएकाले सडक दवेको छ । 

आयोजनाका पश्चिम खण्डका इन्जिनियर विकास खनालले काममा केही कमजोरी र सुधारका पक्षहरु देखिएको जनाउँदै प्राविधिक त्रुटिहरुलाई सच्याउन निर्माण कम्पनीलाई तत्कालै औपचारिक पत्राचार गरिने र काममा सुधार ल्याइने प्रतिबद्धता व्यक्त गरे । निर्माण कार्यको सुपरिवेक्षण गरिरहेको कन्सल्ट्यान्ट कम्पनीका इन्जिनियर शशि श्रेष्ठले अनुगमन टोली र नागरिकको चासोलाई मध्यनजर गर्दै कामको गुणस्तरमा तत्काल सुधार गर्ने बताए ।

अनुगमनका क्रममा बर्दघाट नगरपालिका उपप्रमुख रुद्रप्रकाश उपाध्याय, बर्दघाटका पूर्वनगर प्रमुख धीरज शर्मा बस्याल, वडा नम्बर १४ का वडाध्यक्ष भीमकाजी गुरुङ र नगर कार्यपालिका सदस्य सुमित्रा ढकालले निर्माणको काम दीर्घकालीन र टिकाउ हुने गरी त्रुटीरहित गर्नुपर्नेमा जोड दिए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपरासीका अनुसार उक्त सडक खण्डको भारवहन क्षमता मापदण्ड अनुसार बढीमा १० टनसम्म मात्र छ । तर, हाल उक्त सडकमा क्षमताभन्दा ९ गुणा बढी अर्थात् ९० टनसम्मका ओभरलोड मालवाहक सवारी साधनहरु निर्वाध रुपमा आवतजावत गरिरहेका छन् । 

यही अत्यधिक ओभरलोडका कारण पनि निर्माण सम्पन्न भएका वा मर्मत गरिएका नयाँ पिच खण्डहरु पनि छोटो समयमै उप्किने, भाँसिने र बिग्रिने गरेका छन् । स्थानीयले यो खण्डमा नालीको सही निकास नहुँदा वर्षाको पानी सडकमा जमेर सडक केही भाग दबेर जोखिम बढेको समेत गुनासो गरेका छन् ।

दाउन्नेदेखि पश्चिम बुटवलसम्म र दाउन्नेदेखि पूर्व गैंडाकोटसम्म दुई खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update