काठमाडौं । नेपालको २६ वटा जिल्ला भारतीय सीमासँग जोडिएको छ । ती मध्ये ८१ स्थानमा भारतीय अतिक्रमण भएको सीमाविद्हरुले बताउँदै आएका छन् । ती मध्ये सबैभन्दा बढी नवलपरासीको सुस्ता भारतीय अतिक्रमणको चपेटामा छ । ‘सुस्ता बचाउ अभियान’ नै गठन गरि वर्षौदेखि भारतीयसँग जुध्दै आएका सुस्ताबासी केन्द्र सरकारलाई आफ्नो आवाज सुनाउन काठमाडौं आएका छन् ।
भारतीय अतिक्रमणको चपेटामा परेको सुस्ता बचाउन भन्दै सुस्ताबासीहरु वर्षौदेखि संघर्ष गर्दै आएका छन् । सुस्तालाई बचाउन भन्दै उनीहरुले ‘सुस्ता बचाउ अभियान’ नै सञ्चालन गरे । अभियानको सञ्चालन गोपाल गुरुङले गर्दै आएका थिए । वर्षौदेखि आफ्नो भूमि रक्षाको लागि संघर्ष गर्दै आएको यो अभियानले ८ वर्षअघि काठमाडौं आएर केन्द्र सरकारलाई अवगत गराएको थियो । गुरुङकै नेतृत्वमा आएको टोलीले हप्तौं सम्म काठमाडौंमा धर्ना दिएको थियो ।
सुस्ताको लागि वर्षौदेखि लडेका गुरुङको तीन वर्षअघि मष्तिष्कघात भई ६२ वर्षको उमेरमा निधन भयो । गुरुङको निधनपछि सुस्ताबासीले आफ्नो भूमि रक्षाका लागि लड्दै आएका मुख्य अभिभावक गुमाएपछि भारतीय ज्यादती झनै बढ्दै गयो । तर सुस्ताबासीले आफ्नो भूमि रक्षाका लागि निरन्त संघर्ष जारी राखेका छन् ।
गत फागुन २१को निर्वाचनपछि प्रधानमन्त्री बनेका बालेन्द्र शाहले नै ‘भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भनी संसदको रोष्टममा उभिएर अभिब्यक्ति दिएपछि नेपालको सीमावर्ती क्षेत्रमा भारतीय ज्यादती झनै बढेको छ । निरन्तर प्रतिरोध गर्दै आएका सुस्ताबासीले पछिल्लो पटक भारतीय सीमा सुरक्षा बल एसएसबीलाई नेपाली भूमिमा छिरेपछि लखेटेरै भगाएका थिए ।
न नागरिकता न लालपूर्जा
नेपाली भूमि रक्षाका लागि वर्षौदेखि लड्दै आएका सुस्तावासीको नागरिकताको समस्या उस्तै छ । नेपाली भूमि रक्षाका लागि लड्दै आएपनि नेपाली नागरिक रहेको प्रमाणपत्र समेत नपाएको भन्दै उनी अहिले पुनः केन्द्र सरकारलाई सुनाउन भन्दै काठमाडौं आएका छन् । आफूहरूसँग नेपाल नागरिक भएको कुनै प्रमाणपत्र र लालपुर्जा नहुँदा सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले निरन्तर दुख दिएको भन्दै सुस्ताबासीले सुस्ताको माटो बोकेर काठमाडौं आए्का हुन् । खासगरी भारतीय अतिक्रमण रोक्न माग गर्दै आएका उनीहरुले ३ बुँदे माग अघि सारेका छन् ।
१. नेपालको सार्वभौम भूमि सुस्तामाथिको अतिक्रमण तत्काल रोक्न र सुगौली सन्धिको भावनाअनुरूप सीमांकन गर्न प्रभावकारी कुटनीतिक पहल गर्नुपर्ने,
२. सुस्ताबासीहरूलाई तत्काल बिना कुनै शर्त नेपाली वंशजको नागरिकता उपलब्ध गराउनुपर्ने ,
३. पुस्तौँदेखि भोगचलन र संरक्षण गर्दै आएको जमिनको नापजाँच गरी तुरुन्त लालपुर्जा वितरण गर्नुपर्ने ।
नेपाली भूमि मिच्ने प्रयासमै भारतीय सुरक्षाकर्मी
काठमाडौं आएका सुस्तावासीहरूले जेठ १३ गतेपछि भारतीय सुरक्षाकर्मीले हातहतियार सहित पटक–पटक नेपाली भूमि सुस्तामा प्रवेश गरेर नेपाली भूमि मिच्ने प्रयास गरिरहेको बताएका छन् । भारतीय सुरक्षाकर्मीले पटक पटक नेपाली नागरिकको प्रमाणपत्र र जग्गा नेपालको भएको लालपुर्जा देखाउन दबाब दिने गरेका छन् ।
त्यसैले भारतीय पक्षको सामना गर्न सुस्ताको लालपुर्जा, नेपाली नागरिकता र सिमानामा ’जङ्गे पिलर’ कायम हुनुपर्ने उनीहरूको माग छ । ‘दया होइन, न्याय दे’, ‘हामी खेती गर्छौं, यसको स्वामित्व हाम्रो हो’ लेखेको प्लेकार्ड बोकेका युवा तथा आमा बाबुको आत्मसम्मानले सिंगो नेपाललाई सीमा र नागरिकको सुरक्षाबारे सोच्न बाध्य तुल्याएको छ । सुस्ताका सयौँ उत्पीडित बासिन्दाहरू आफ्नो मातृभूमि जोगाउन र आफ्ना आधारभूत मानव अधिकारको रक्षा गर्न माग गर्दै काठमाडौं आइपुगेका उनीहरु आफूहरुको माग सुनुवाई नभएसम्म घर नफर्किने बताएका छन् ।
