काठमाडौँ । नेपालको प्रतिष्ठित सडक दौड प्रतियोगिता "सिद्धार्थ बैंक १८औं काठमाडौं म्याराथन" आगामी असोज २४ गते १० अक्टोबर २०२६ दशरथ रंगशालामा आयोजना हुने भएको छ।
एन.आर.एस. स्पोर्ट्स फाउन्डेसनद्वारा आयोजित यस प्रतियोगिताको तयारी भव्य रूपमा भइरहेको छ र आयोजना हुन अब ठीक १०० दिन बाँकी रहेको छ।
यस वर्ष करिब १० हजार धावक सहभागी हुने अपेक्षा गरिएको म्याराथनको सुरुवाती दर्तामै २,५०० भन्दा बढीले नाम सुरक्षित गरिसकेका छन्। इतिहासमै पहिलो पटक फुल म्याराथन (४२.१९५ किमी) तर्फ २५ जना नेपाली महिला धावकहरूले सहभागिता जनाउनु यस वर्षको ठुलो गौरवको विषय बनेको छ।
प्रतियोगितामा फुल म्याराथन, हाफ म्याराथन, १० किमी, ५ किमी र ३ किमीका विधाहरू समावेश छन्। विशेष आकर्षणका रूपमा रहेको ३ किलोमिटर ‘फैमिली रन’ मा आमा, बुबा र छोराछोरीले एउटै टोली बनाएर दौडन सक्नेछन्।
“Build Healthy Lifestyle” (स्वस्थ जीवनशैलीको निर्माण) भन्ने नाराका साथ आयोजना हुन लागेको यस म्याराथनमा भारत, अमेरिका, चीन, बेलायत र फ्रान्स लगायतका विभिन्न देशबाट १२० भन्दा बढी अन्तर्राष्ट्रिय धावकहरूले पनि आफ्नो सहभागिता सुनिश्चित गरिसकेका छन्। सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको यस ऐतिहासिक उत्सवमा सिट सीमित भएकाले आयोजकले इच्छुक सम्पूर्ण धावकहरूलाई समयमै दर्ता गर्न अनुरोध गरेको छ।
