News 24 Television
जेनजी आन्दोलनको असर रुपन्देही अदालतमा

रुपन्देही । रुपन्देही जिल्ला अदालतको मुद्दा फछ्र्यौट दर घटेको छ । अदालतका अनुसार आर्थिक वर्ष २०८१–०८२ भन्दा २०८२–२०८३ मा ५.७७ प्रतिशतले मुद्दा फछ्र्यौट घटेको हो । अघिल्लो वर्ष करिब ६० प्रतिशत मुद्दा फछ्र्यौट गरेको अदालतले चालु आर्थिक वर्षको असार १७ गतेसम्म ५४ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । 

बिहिवार रुपन्देही जिल्ला अदालतका जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले जेनजी आन्दोलन, निर्वाचन, मुद्दाको चाप र कर्मचारी अभावका कारण चालु वर्ष लक्ष्यअनुसार फछ्र्यौट हुन नसकेको बताए । अदालतमा जेनजी आन्दोलनका क्रममा १९ लाख बढीको संरचनामा क्षति भएको थियो । कुल ७ हजार ६४२ मध्ये ४ हजार १०९ मुद्दा फछ्र्यौट भएका छन् । 

असार १७ सम्म ४ हजार ४०२ दर्ता भएका र अघिल्लो वर्षका ३ हजार २४० सरेका थिए । यो अवधिमा ५ हजार ९ सय ९५ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखिएपनि त्यो पूरा हुन सकेन । हाल अदालतमा ३ हजार ५ सय ३३ मुद्दा विचाराधीन छन् । 

अदालतमा हाल २ वर्ष नाघेका विचारधीन मुद्दा १३४ वटा छन् । १८ महिनादेखि २ वर्षभित्रका २५० र १८ महिना भित्रका मुद्दा ३ हजार १४९ छन् । 

अदालतले आर्थिक वर्ष २०८२\०८३ मा फैसला कार्यान्वयनबाट १ हजार हजार ७ सय ८१ वर्ष ७  महिना २९ दिन कैद असुल उपर गरेको छ भने अझै ३ हजार ७८९ वर्ष ९ महिना १४ दिन असुल गर्न बाँकी छ । यस्तै, चालु आर्थिक वर्षमा १० करोड १९ लाख ७६ हजार ३५१ रुपैयाँ जरिवाना असुलउपर हुँदा ९२ करोड १५ लाख २९ हजार ५९८ रुपैयाँ असुल गर्न बाँकी छ ।

यस्तै, अदालतले २ हजार २१४ वटा फैसला कार्यान्वयन गरेको छ भने अझै २ हजार १६४ फैसला कार्यान्वयन गर्न बाँकी छन् । यस्तै, पारिवारिक इजलासमा रहेका ४ सय ८ वटा मुद्दामध्ये २ सय वटा फछ्र्यौट गरिएको छ । जिल्ला अदालतमा आर्थिक वर्ष २०८१\८२ बाट पारिवारिक इजलास संचालन भएको थियो । अदालतले मेलामिलापमार्फत् २२८ वटा मुद्दा टुंग्याएको छ । 

कुल मुद्दा १ हजार ७३ दर्ता भएकोमा ७४० भने मेलमिलापबाट सफल हुन सकेनन् । १ सय ५ वटा मुद्दा भने विचाराधीन अवस्थामा छन् । अदालतका अनुसार जिल्लामा पछिल्लो समय बैंकिङ कसूर, चेकअनादर, लागूऔषध, सवारी ज्यान, सम्बन्ध विच्छेद, अंशमानाचामल लगायतका मुद्दा बढी मात्रामा दर्ता भइरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update