News 24 Television
इन्स्पेक्टर गुरुङको चर्तिकलाः ११ करोड वित्तिय स्क्याण्डलको पर्दाफास !

काठमाडौं । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित एपीएफ स्कुलमा ११ करोड रुपैयाँ हिनामिना भएको खुलेको छ । कल्याणकारी कोषको रकम व्यक्तिगत स्वार्थ र प्रेमीको व्यवसायमा लगानी गरिएको आरोप छ । यस प्रकरणमा इन्स्पेक्टर कल्पना गुरुङ र लीला लामा पक्राउ परेका छन् । छानबिनले मिलेमतो र कीर्ते हस्ताक्षर देखाएको छ । 

१ करोडको हिनामिना, प्रेम सम्बन्ध र अनुसन्धान । अहिले कीर्तिपुरस्थित सशस्त्र प्रहरीको विद्यालयमा भएको आर्थिक अनियमितताले शसस्त्र प्रहरीभित्र हलचल मच्चिएको छ । लेखा अधिकृत इन्स्पेक्टर कल्पना गुरुङ र उनका प्रेमी भनिएका लीला लामालाई काठमाडौं प्रहरीले पक्राउ गरेपछि यो काण्डले नयाँ मोड लिएको छ । 

डिआइजी युवराज अर्याल नेतृत्वको छानबिन समितिको प्रतिवेदनपछि उनीहरूमाथि आपराधिक विश्वासघात, ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । गुरुङले विद्यालयको रकम लामाको खातामा पठाएको, लामाले त्यो रकम रेस्टुरेन्ट र ट्राभल व्यवसायमा लगानी गरेको तर फिर्ता गर्न नसकेको स्वीकार गरेका छन् । यस प्रकरणमा तत्कालीन कमान्डेन्ट दिग्विजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डेमाथि पनि छानबिन जारी छ ।

के हो घटना ?

६ वर्ष एउटै जिम्मेवारी, अनि करोडौँको खेल र मापदण्डविपरीत इन्स्पेक्टर कल्पना गुरुङ ६ वर्षसम्म एपीएफ स्कुलकी लेखा अधिकृत रहिन् । एउटै कार्यक्षेत्रमा यति लामो समय एकै व्यक्ति रहनुले पनि यो हिनामिनाभित्र को को संलग्न छन्, त्यो चासो र खोजीको विषय हो । 

२०८२ माघ–फागुनमा जब ७ करोड रुपैयाँको हिसाब गोलमाल भयो अनि मात्रै यो विषयमा छानबिन सुरु भयो । अनुसन्धानले विद्यालयको रकम प्रेमी भनिएका लीला लामाको खातामार्फत ट्राभल कम्पनीहरूमा पु¥याई मिटर ब्याजमा लगाइएको समेत देखायो । 

बैंकको मिलेमतो, प्रक्रिया नपु¥याई रकम निकालिएको, नक्कली भौचर प्रयोग गरिएको र वर्षौँसम्म लेखापरीक्षणमै तथ्य लुकाइएको आरोप छ । एनआइसी एसिया बैंकको कीर्तिपुर शाखामा विद्यालयको खाता छ भने लाजिम्पाटको शाखाबाट सधैँ पैसा निकालिएको छ । 

सशस्त्र प्रहरीको खातामा जानुपर्ने रकम कनेक्ट आइपिएसबाट एम एडभेन्चर ट्राभल एण्ड टुर्स, हाम्रो टिकट प्रालि र एमडी होलिडेज प्रालिको खातामा गएको पाइएको छ । प्रक्रिया नपु¥याइ निकालिएको रकमको बारेमा वर्षौसम्म खोजविन नहुनुले कल्याण शाखातर्फ पनि प्रश्न तेर्सिएको छ । 

डीएसपी महेन्द्र हमालको लापरवाही

यो काण्ड सार्वजनिक भएपछि प्रश्न उठेको छ, के यो एक जनाको मात्रै चलखेलमा हुँदै थियो कि प्रणालीकै असफलता हो ? सशस्त्र प्रहरीको छानबिनले केन्द्रीय कल्याणकारी कोषका डीएसपी महेन्द्र हमालको लापरबाहीले इन्स्पेक्टर कल्पना गुरुङको अनियमितता बढेको निष्कर्ष निकालेको छ । 

एपीएफ स्कुलबाट जम्मा हुनुपर्ने करिब ९ करोड रुपैयाँ नआउँदा पनि चासो नदिइएको, फागुनमै आएको चेतावनीपत्रसमेत बेवास्ता वा गायब पारिएको आरोप छ । अझ, दुई वर्षको मापदण्ड हुँदाहुँदै गुरुङ ६ वर्ष र हमाल ८ वर्ष एउटै जिम्मेवारीमा बसेका थिए । 

डीआईजीको हस्ताक्षर कीर्ते, लीलाका तीन खातामा पैसा

यो प्रकरणको केन्द्रमा देखिएको अर्को गम्भीर पक्ष कागजातको दुरुपयोग र नक्कली हस्ताक्षर हा । इन्स्पेक्टर गुरुङले कनेक्ट आईपीएस फारममा तत्कालीन समादेशक एसएसपी तथा हालका डीआईजी दिग्विजय सुवेदीको नक्कली हस्ताक्षर प्रयोग गरी रकम पठाएको खुलेको छ । रकम कनेक्ट आइपीएसबाट लीलाबहादुर सञ्चालक रहेको एमडी एडभेन्चर ट्राभल, हाम्रो टिकट र एमडी होलिडेजका खातामा गएको पाइएको छ ।

इन्स्पेक्टर कल्पना गुरुङको खराब पृष्ठभूमी ! 
 
सशस्त्र प्रहरीभित्र यूएनको एफपीयू मिसनमा जान हानाथाप हुन्छ । तर इन्स्पेक्टर गुरुङ मिसनमा छनोट हुँदा पनि नाम काट्ने गर्थिन् । यो बाहेक एपीएफ स्कुलमा विद्यार्थीको खाना रासनको गुणस्तर घटाएर कल्याण कोषको रकम दुरुपयोग गरेको आरोप पनि उनीमाथि छ । 

विद्यालयमा दैनिक करिब २० हजार रुपैयाँ अनियमितता भएको उजुरी मुख्यालयमा पुगेको छ । बासुदेव ओली र सनतकुमार बस्नेत आईजीपी हुँदा गुरुङ केन्द्रीय लेखामा थिइन् । चार आईजीपीमाथि अख्तियारले मुद्दा चलाउँदा गुरुङलाई पनि मुद्दा चलाइएको थियो । तर त्यतिबेला उनको मुद्दा तामेलीमा राखियो थियो भने सिंहबहादुर श्रेष्ठ सशस्त्र आईजीपी भएको समयमा स्टोरमा आगजनी भएको थियो । त्यो आगजनीलाई गुरुङकै संलग्नतामा प्रमाण नष्ट गर्न घटाइएको सुनियोजित घटनाको रुपमा चर्चा भएको थियो । 

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update