News 24 Television
नेपालीलाई नेपाल चिनाउँदै गोरखा पिक इन्टरनेशनल

काठमाडौं । विदेशमा बस्ने हरेक नेपाली अभिभावकको एउटा साझा सपना हुन्छ र त्यो हो आफ्नो छोराछोरीले विश्वस्तरीय शिक्षा आर्जन सहित आफ्नै भाषा, संस्कार र पहिचान संगै अघि बढुन् । तर विदेशी भूमिमा व्यवहारमा यी दुई उद्देश्यलाई एकैसाथ पूरा गर्न सजिलो छैन । 

यही चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने प्रयासस्वरूप जापानको चिबा प्रिफेक्चरस्थित साकुरा सिटीमा सञ्चालनमा आएको  गोरखा पिक इन्टरनेशनल विद्यालयले त्यहाँ हुर्किरहेका नयाँ पूस्तालाई देशसँग जोड्ने काम गरिरहेको छ । 

पछिल्लो समय जापानमा नेपाली समुदायको संख्या निरन्तर बढ्दै गएको छ । त्यससँगै नेपाली बालबालिकाका लागि गुणस्तरीय शिक्षासँगै आफ्नो भाषा, संस्कृति र पहिचानलाई जोगाउने खालको शिक्षाको आवश्यकता पनि बढ्दै गएको छ । 

यही आवश्यकतालाई सम्बोधन गर्दै जापानको चिबा प्रिफेक्चरस्थित साकुरा सिटीमा, केइसेई–साकुरा स्टेशन नजिकै रहेको गोरखा पिक इन्टरनेशनल विद्यालयमा हाल नर्सरीदेखि कक्षा ५ सम्म अध्ययन–अध्यापन सञ्चालन भइरहेको छ । यहाँ अन्तर्राष्ट्रिय स्तरको सिकाइ वातावरण, जापानी शिक्षाको अनुशासन तथा नेपाली भाषा–संस्कृतिलाई एउटै छानामुनि समेट्ने प्रयास गरिएको छ । 

विद्यालयमा किण्डरगार्डेनका कक्षाहरू जापानको होइकेन शिक्षण प्रणालीअनुसार सञ्चालन गरिएका छन् भने कक्षा १ देखि ५ सम्म नेपाली पाठ्यक्रमसँगै जापानी भाषा तथा आवश्यक अन्तर्राष्ट्रिय सीपहरू पनि अध्यापन गरिन्छ । 

विद्यालयको लक्ष्य पढाइमा सीमित छैन, नेपाली बालबालिकालाई आफ्नो भाषा, संस्कृति, इतिहास र राष्ट्रिय पहिचानसँग जोड्ने प्रयास पनि भइरहेको छ । 

विद्यालयका अनुसार यहाँ विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञान होइन, अनुशासन, समयको सम्मान, जिम्मेवारीबोध, नेतृत्व क्षमता र अन्तर्राष्ट्रिय सोचको विकासमा समेत विशेष जोड दिइन्छ । 

विदेशमा हुर्किरहेका नेपाली बालबालिकाका लागि यस्ता विद्यालय केवल शिक्षालय मात्र होइनन् । आफ्नो जरा, भाषा, संस्कृति र राष्ट्रिय पहिचानसँग जोड्ने जीवन्त केन्द्र पनि बन्दै गएका छन् । 

नेपाली समुदाय विस्तार भइरहेका मुलुकहरूमा यस्ता प्रयासले भावी पुस्तालाई आफ्नो मौलिकता जोगाउँदै विश्व नागरिक बन्ने आधार तयार गरिरहेका छन् । 

विदेशमा नेपाली शिक्षा र संस्कृतिलाई जीवन्त राख्ने यस्ता संस्थाहरू निजी प्रयासबाट अघि बढिरहेका छन् । तर यिनलाई अझ प्रभावकारी र दिगो बनाउन नेपाल सरकार, विशेषगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सम्बन्धित निकाय र विश्वभर रहेका नेपाली समुदायको समन्वय, अभिभावकत्व र सहयोग आवश्यक देखिन्छ । 

विदेशमा जन्मिने र हुर्किने नयाँ पुस्तालाई आफ्नो मातृभाषा, संस्कार र राष्ट्रिय पहिचानसँग जोडिराख्नु केवल एउटा विद्यालयको जिम्मेवारी होइन, सम्पूर्ण राष्ट्रकै साझा दायित्व हो । 

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update