काठमाडौं । न्यूज २४ टेलिभिजनको कार्यक्रम ई टकमा महिनावारी र छाउपडी प्रथासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विवादमा परेपछि गायिका इब्सल सन्ज्यालले प्रष्टिकरण दिँदै सार्वजनिक रूपमा माफी मागेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले आफ्नो अभिव्यक्तिबाट अछामवासीको भावनामा चोट पुगेको स्वीकार गर्दै अन्तरहृदयदेखि क्षमा याचना गरेकी हुन ।
सन्ज्यालले आफूले अमेरिकाबारे बोलेको विषय प्रत्यक्ष अनुभवका आधारमा नभई एक शुभचिन्तकसँग भएको टेलिफोन संवादका आधारमा व्यक्त गरेको बताएकी छन् ।
ती व्यक्तिले अमेरिकामा बस्ने अछामका एक परिवारमा पनि महिनावारी भएका महिलालाई घरभित्र बस्न नदिने प्रचलन रहेको जानकारी दिएको भन्दै आफूले त्यसैलाई विश्वास गरेर अभिव्यक्ति दिएको उल्लेख गरेकी छन । तर उक्त दाबी पुष्टि गर्ने प्रमाण आफूसँग नरहेकाले त्यसप्रति पनि उनले बताएकी छन् ।
उनले कुप्रथा विरुद्ध आवाज उठाउँदै आएको र विभिन्न संस्थासँग सहकार्य गर्दै सचेतनामूलक अभियानमा सक्रिय रहेको दाबी गरेकी छन ।
पछिल्लो समय महिनावारीका बेला सरसफाइ, स्वास्थ्य र सुरक्षित बसोबासका विषयमा टिकटक तथा रिल्समार्फत सामग्री बनाइरहेकै क्रममा उक्त विषय आफ्नो मनमा रहेको बताएकी छन ।
उनले अस्पतालमा आमाको उपचारमा व्यस्त रहेका बेला सामाजिक सञ्जालमा आफूविरुद्ध आएका गालीगलौज पनि थाहा पाएको उल्लेख गरेकी छन् । यद्यपि त्यसप्रति कुनै गुनासो नरहेको र आफूबाट अन्जानमा भएको गल्तीका लागि सबै अछामवासीले क्षमा दिने विश्वास व्यक्त गरेकी छन ।
सन्ज्यालले छाउपडीका कारण अछामसहित सुदूरपश्चिम र कर्णालीमा बलात्कार, सर्पदंश, निसासिएर मृत्युजस्ता घटना भएको तथ्य विभिन्न निकाय र सञ्चारमाध्यमका विवरणका आधारमा उल्लेख गरेको बताउँदै सामाजिक कुरीतिविरुद्धको अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता दोहोर्याएकी छन ।
साथै आफू सुदुर–कर्णालीकै छोरीचेली भएकाले आगामी दिनमा पनि सबैको माया, साथ र विश्वासको अपेक्षा रहेको उल्लेख समेत गरेकी छन् ।
