News 24 Television
दोलखाको अनौठो रोपाइँ परम्परा संकटमा, हराउँदै तान्त्रिक संस्कृति

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ मा रहेको ऐतिहासिक ’नितपुल खेत’मा हुने तान्त्रिक रोपाइँ अहिले संरक्षणको पर्खाइमा छ । कुनै समय धार्मिक विधि, तान्त्रिक परम्परा र सामूहिक सहभागिताको केन्द्र बनेको यो खेतमा अहिले अधिकांश परम्परा हराउँदै गएका छन्। 

दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित ऐतिहासिक ‘नितपुल खेत’मा हुने तान्त्रिक रोपाइँ परम्परा संरक्षणको पर्खाइमा छ । कुनै समय धार्मिक विधि, तान्त्रिक संस्कार र सामूहिक सहभागिताको केन्द्र रहेको यो रोपाइँमा अहिले अधिकांश परम्परा हराउँदै औपचारिकतामा सीमित बन्न थालेको छ । 

जिल्लाभरका खेतमा रोपाइँ सकिएपछि मात्रै करिब तीन मुरी बिउ लाग्ने नितपुल खेतमा सामूहिक रूपमा रोपाइँ गर्ने चलन थियो । विगतमा दुई दिनसम्म पूजा, विभिन्न मठमन्दिरमा बलिपूजा तथा तान्त्रिक विधि गरिन्थ्यो । 

नितपुलसँगै जोडिएको ‘बारलुङा’ ढुङ्गासँग पनि सत्ययुगदेखि बिहे, भोज र भैरव–कुमारी जात्राका लागि गरगहना तथा पूजाका सामग्री मागेर प्रयोग गर्ने जनविश्वास छ । 

प्रयोगपछि शुद्ध विधिबाट फिर्ता गर्नुपर्ने नियम तोडिएपछि दैवी ढोका सधैँका लागि बन्द भएको किम्वदन्ती आज पनि स्थानीय समाजमा जीवित छ ।

रोपाइँअघि भैरव–कुमारीसँग सम्बन्धित शिवशक्ति परिवारले तान्त्रिक पूजा सम्पन्न गरेपछि मात्रै खेतमा हिलो छुन मिल्ने धार्मिक मान्यता छ । संस्कृतिविद्का अनुसार यो कृषि कर्म मात्रै नभई दोलखाको प्राचीन तान्त्रिक संस्कृति र धार्मिक विश्वाससँग जोडिएको मौलिक परम्परा हो । 

स्थानीयका अनुसार पहिले रोपाइँपछि चार दिनसम्म खेत वरिपरि हिँड्न निषेध थियो भने शक्तिपीठ मानिने यस क्षेत्रमा शनिबार र मंगलबार प्रवेशसमेत रोक लगाइन्थ्यो । तर आधुनिकता, पुस्तान्तरणको अभाव र घट्दो खेतीयोग्य जमिनसँगै यी परम्परा लोप हुने अवस्थामा पुगेका छन् । ऐतिहासिक, धार्मिक र तान्त्रिक महत्व बोकेको ‘नितपुल खेत’ र ‘बारलुङा’को संरक्षण आवश्यक भएको स्थानीयको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update