काठमाडौं । आगलागी वा अन्य कारणले हुने जलनमा सही प्राथमिक उपचार अपनाउँदा गम्भीर क्षति कम गर्न सकिने स्वास्थ्य विज्ञहरूले बताएका छन् । जलेको भागमा २० मिनेट चिसो बग्ने पानी हाल्ने र तत्काल अस्पताल पु¥याउने उपाय सबैभन्दा प्रभावकारी मानिन्छ छ ।
आगलागी, ग्यास चुहावट, विद्युत् सर्ट वा तातो पदार्थका कारण हुने जलनका घटनामा समयमै सही प्राथमिक उपचार गर्न सकिए गम्भीर क्षति कम गर्न सकिने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।
उनीहरूका अनुसार अस्पताल पु¥याउनु अघि गरिने केही सामान्य तर सही उपायले पीडितको अवस्था थप बिग्रनबाट जोगाउन मद्दत गर्छ । स्वास्थ्यकर्मीका अनुसार आगोले जलेको व्यक्तिलाई देख्नेबित्तिकै सबैभन्दा पहिले आगो निभाएर सुरक्षित स्थानमा सार्नुपर्छ । यदि लुगामा आगो लागेको छ भने पीडितलाई रोक्ने, भूईमा लड्ने, घोप्टिएर वा पल्टिँदै आगो निभाउने विधि अपनाउन लगाउन सकिन्छ वा बाक्लो कपडाले आगो छोपेर निभाउन सकिन्छ ।
त्यसपछि जलेको भागलाई तुरुन्तै चिसो बगिरहेको पानीमा करिब २० मिनेटसम्म राख्न वा पानी बगाउनुपर्छ । यसले छालाको तापक्रम घटाएर थप क्षति हुनबाट बचाउन मद्दत गर्छ । बरफ वा अत्यधिक चिसो वस्तु भने सिधै जलेको भागमा राख्नु हुँदैन यसले थप क्षति पु¥याउन सक्छ ।
यदि जलेको स्थानमा औँठी, घडी वा कसिलो गहना छ भने सुन्निनु अघि सावधानीपूर्वक हटाउनुपर्छ । त्यसपछि जलेको भागलाई सफा, सुख्खा र नटाँसिने कपडा वा स्टेराइल गजले हल्का ढाक्नु पर्छ ।
विशेषज्ञहरूले जलेको भागमा घ्यु, तेल, टुथपेस्ट, बेसार, मल्हम, माटो वा अन्य घरेलु पदार्थ नलगाउन आग्रह गरेका छन् । यस्ता वस्तुले संक्रमणको जोखिम बढाउन सक्छ र उपचारमा कठिनाइ सिर्जना गर्न सक्छ ।
जलेको फोका फुटाउन हुँदैन । यी र यस्ता प्राथमिक उपचार विधि अपनाउँदै जलनमा परेका व्यक्तिलाई तत्काल अस्पताल लैजानुपर्छ ।
आगलागी जलनमा परेका व्यक्तिलाई के गर्न हुँदैन भन्नेमा पनि हामी सचेत हुनुपर्छ । त्यसैले आगोले जलेका व्यक्तिलाई
- सिधै जलेको भागमा बरफ नराख्ने
- घ्यु, तेल, टुथपेस्ट, बेसार वा अन्य घरेलु पदार्थ नलगाउने
- फोका नफुटाउने
- जलेको छालामा टाँसिएको कपडा जबर्जस्ती नउखेल्ने
यी त भए प्राथमिक उपचार विधि । त्यसैले आगोले जलेको घटनामा नआत्तिकन धैर्यताका साथ सफा चिसो पानीको प्रयोग मात्र गर्दा पनि बिरामीले ठुलो राहत पाउँछन् । प्राथमिक उपचार लगत्तै बिरामीलाई जतिसक्दो चाँडो नजिकैको सुविधासम्पन्न अस्पताल पु¥याउनु नै सबैभन्दा बुद्धिमानी हुन्छ ।
