News 24 Television
सुकुम्बासीलाई खाजामा एउटा मिठाई, होल्डिङ सेन्टर डुब्दा अलपत्र

काठमाडौं । १५ दिनका लागि भन्दै कीर्तिपुरको होल्डिङ सेन्टरमा सारिएका सुकुम्बासी तीन महिनापछि पनि अलपत्र छन् । बाढीबाट बचाउन सारिएका भनिएका सुकुम्बासीहरु शनिबार मध्यराति बसिरहेको सेन्टरमै बाढी पसेपछि विचल्लीमा परे । सरकारको वाचा कागजमै सीमित भएको भन्दै उपेक्षा र गैरजिम्मेवारीको आरोप उनीहरुले लगाएका छन् ।

काठमाडौंका सुकुम्बासीलाई १५ दिनका लागि भन्दै कीर्तिपुरको होल्डिङ सेन्टरमा सारिएको थियो । तर तीन महिना बित्दासमेत स्थायी व्यवस्थापन हुन सकेन । उल्टै शनिवार मध्यराति करिब १२ः४० बजे सेन्टरमै बाढी पसेपछि सुकुम्बासीको विजोग भएको छ । 

बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू जोखिममा परे भने सरकारको प्रतिबद्धता कागजमै सीमित भएको भन्दै पीडित आक्रोशित छन् । पीडित दलमर्दन कामीले सरकारले खाजा भन्दै एउटा मिठाइ थमाउनेबाहेक केही नगरेको आरोप लगाए । आफ्नै बसोबासको ठाउँमा फर्किन पनि नदिइएको र बाढीले रातभर सुत्न नदिँदा अब मर्नुको विकल्प नरहेको उनको भनाइ छ । 

कान्छीमाया घलानले सुतिरहेको बेला पानी पस्दा छाता र मोबाइलबाहेक केही बचाउन नसकेको बताइन् । लुगाफाटा, खाद्यान्न र ओढ्ने–ओछ्याउने सबै भिजेको तथा उद्धारका लागि सुरक्षाकर्मी राति तीन बजे मात्रै आएको उनको गुनासो छ । १५ दिनका लागि भन्दै घर भत्काएर ल्याइए पनि तीन महिनासम्म अलपत्र पारिएको भन्दै उनी आक्रोशित बनिन् । 

सेल्टरमा रहेका पीडितहरुले १५ दिनको नाममा यहाँ ल्याएर बेवारिसे बनाएको भन्दै सरकारले के गर्न खोजेको भन्दै प्रश्न गरेका छन् । 

सरकारमा बस्नेहरू पनि एक दिन मर्नुपर्छ भन्ने हेक्का राख्न चेतावनी दिँदै आफूहरूमाथि अत्याचार भएको उनको गुनासो छ । 

पानी पस्ने थाहा हुँदाहुँदै यहाँ ल्याइएको आरोप पीडितहरुले लगाएका छन् । डम्बर तामाङले बाढीबाट करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको र चप्पलसमेत नभएकाले बालबालिका नांगो खुट्टा हिँड्न बाध्य भएको बताए । 

मुटु, मिर्गौला र दमका बिरामीसमेत चिसोमा कष्टकर अवस्थामा छन् । पीडितले आश्वासन धेरै तर काम शून्य भएको भन्दै सरकारप्रति रोष पोखेका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ओजश्वीराज थापाले व्यवस्थापनमा प्राविधिक कमजोरी स्वीकार गर्दै खाना, डस्ना, ब्ल्याङ्केट र स्वास्थ्य सेवा उपलब्ध गराइरहेको दाबी गरे । 

१५ दिनको आश्वासन तीन महिनामा पनि समाधन नहुँदा सुकुम्बासी विलचित मात्रै बनेका छैनन, उनीहरुको बिचल्ली समेत भएको छ । 

होल्डिङ सेन्टरमा अनिश्चित भविष्यका साथ उनीहरु सरकारले उपेक्षा गरिरहेको महशुष गरिरहेका छन् । सुकुम्बासीसँग गरिएको वाचा र प्रतिबद्धता कार्यान्वयन नहुनुको कारण सरकारले खुलाएको छैन । सुरक्षित स्थानमा राखिएका भनिएका सुकुम्बासीहरुको कीर्तिपुरको दृश्यले उनीहरु जीवन बचाउन संघर्ष गरिरहेको देखिएको छ । 

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update