काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको शव बुझ्न परिवार सहमत भएको छ । पीडित परिवारसँग आइतबार दोस्रो चरणको वार्तामा सहमति भएपछि परिवार शव बुझ्न सहमत भएको हो । नेपाली परिवार र सरकारबीच नौ बुँदे सहमति भएको छ ।
मुगुको सोरु गाउँपालिका–६ का गणेश नेपालीको आत्मदाहको घटनाको अनुसन्धान गर्न सरकारले पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने भएको छ । सरकार र पीडित पक्षबीच आइतबार ९ बुँदे सहमति भएपछि परिवार शव बुझ्न तयार भएको छ । सहमतिअनुसार पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइने, शहीद घोषणा सम्बन्धी निर्णय छानबिन प्रतिवेदन, विगतको अभ्यास र प्रचलित कानुनअनुसार गरिने उल्लेख छ ।
सहमति नहुँदा पोस्टमार्टम प्रक्रिया प्रभावित भएको थियो । घटनामा संलग्न भनिएका काठमाडौं महानगर प्रहरीका नगर प्रहरी कर्मचारीलाई अनुसन्धान प्रतिवेदन नआउञ्जेल निलम्बन गरिने सहमति पनि भएको छ । वार्तापछि विवाद समाधानतर्फ उन्मुख भएको सरकारी पक्षले जनाएको छ ।
नेपालीका परिवारसँग भएको ९ सहमतिहरु के के ?
१.यस घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र स्वतन्त्र छानबिन समिति गठन गर्नेछ । उक्त समिति गठन भएको मितिले ७ दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नेछ ।।
२.स्वर्गीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउनेछ ।।
३.घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका काठमाडौँ महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानबिन आयोगको प्रतिवेदन÷सिफारिस बमोजिम जाने गरी हाललाई निलम्बन गर्न काठमाडौँ महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट लेखी पठाउने ।।
४.काठमाडौँ महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णयानुसार मृतककी श्रीमतीलाई निजको योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ । साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौँ महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइनेछ । यस कार्यका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वय गर्नेछन् ।
५.काठमाडौँ महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइनेछ ।
६.मृतकको अन्तिम संस्कारका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौँमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौँ महानगरपालिकाबाट मिलाइनेछ ।
७.पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिइनेछ ।
८. मृतकका एकाघरका परिवारजनको आतेजाते (यातायात) खर्च एवम् काठमाडौंमा काजक्रिया अवधिभर रहँदा–बस्दा हुने सम्पूर्ण खर्चको प्रबन्ध काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ ।
९.पीडित परिवारका एकाघरका परिवारको स्वास्थ्य बीमाको कार्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइनेछ ।।
घटनाको सत्यतथ्य छानबिन समितिको निष्कर्षका आधारमा दोषी देखिएकामाथि थप कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको छ । तर परिवारले राहत स्वरुप कति रकम पाउने भन्ने खुलाइएको छैन । पिडित परिवारको सहमतिमा उनीहरुको माग अनुसारकै रकम दिईने बताईएको छ ।
सम्झौता गर्न गृहमन्त्री सुधन गुरुङ जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगेका थिए भने नेपालीको परिवारबाट श्रीमती एकमाया नेपाली, दाइ मदन नेपालीसहित हिक्मत शाही, धर्मराज शाही, मुगुका सांसद खड्गबहादुर शाही लगायत थिए । यसअघि काठमाडौं महानगरपालिकाले गणेशको परिवारलाई रोजगारी र निःशुल्क शिक्षाको जिम्मेवारी लिने घोषणा गरेको थियो ।
गणेशको मृत्युबारे उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वको पाँच सदस्यीय समितिले पनि छानबिन गरिरहेको छ । पिडित पक्षबाट १२ जना र सरकारको पक्षबाट चार जनाले सहमतिमा हस्ताक्षर गरेका छन् । पीडित पक्ष र सरकारी टोलीबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयमा करिब २४ घण्टा लामो वार्ता भए पछि मात्र सहमति जुटेको हो ।
