मेलम्ची । स्थानीय कृषि र हस्तकला उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्ची बजारमा नयाँ व्यावसायिक केन्द्र “कोशेली घर” सञ्चालनमा आएको छ। साउन ८ देखि हरेक दिन बिहान ७ बजेदेखि राति ७ बजेसम्म खुल्ने यो कोशेलीघरको उद्घाटन नगरप्रमुख आइतमान तामाङले गरेका छन् ।
नगरप्रमुख तामाङले कोशेलीघरबाट ताजा फलफूल तथा तरकारी, घरेलु अचार, मह, भान्साका आवश्यक परिकार, हस्तकला सामग्री, अण्डा, माछा, गेडागुडी, चिया, कफी तथा हर्बल सामग्रीलगायत स्थानीय रैथाने उत्पादनको सीधा बिक्री वितरणमा जोड दिने बताए । उनले यहाँ राखिने विशेष परिकार तथा उत्पादनहरू आवश्यक परेमा जिल्ला बाहिर पनि पठाइने समेत जनाए ।

कोशेलीघरले स्थानीय उत्पादक र उपभोक्तालाई एउटै छानामुनि प्रत्यक्ष भेटघाटको व्यवस्था गराउँदै बजारसम्म पहुँच सहज बनाउने लक्ष्य लिएको प्रमुख तामाङले बताए ।
साथै प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले ‘फार्म देखि किचनसम्म अवधारणाअनुरूप उत्पादक र उपभोक्ताको मागअनुसार नयाँ वस्तु तथा उत्पादनहरू परिष्कृत गरी सार्वजनिक गरिने र उद्यमीहरूको भेटघाट हुने उपयुक्त स्थलको रूपमा यसलाई विकास गर्ने योजना रहेको बताए । प्रारम्भिक अनुमान अनुसार नगरपालिकाले दैनिक हजारौंले यहाँबाट किनमेल गर्ने अपेक्षा गरिएको छ।


मेलम्ची आसपासका सरकारी तथा निजी कार्यालयका कर्मचारी, घुम्न आउने पर्यटक, स्थानीय टोल तथा छिमेकी पालिकाका बासिन्दाहरू प्रमुख लक्षित ग्राहक रहने कोशेलीघरबाट स्थानिय रोजगारी र व्यवसायिक गतिविधिलाई थप सक्रिय बनाउन मद्दत पुग्ने उपस्थित उपभोक्ताले विश्वास व्यक्त गरिएको थियो ।
