News 24 Television
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा नागरिक एपमार्फतै बैंक खाता खोल्न सकिने नयाँ सुविधा सुरु गरेको छ । 

राष्ट्रिय परिचयपत्रका आधारमा नागरिक एपमा आबद्ध नेपाली नागरिकले बैंकको वेबसाइटमा उपलब्ध क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खाता अनलाइनबाटै खोल्न सक्नेछन् । 

यो सेवा १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र भएका तथा नागरिक एपमा आबद्ध व्यक्तिका लागि उपलब्ध हुनेछ । खाता खोल्ने क्रममा बैंकले ग्राहकको पूर्वसहमतिमा आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गर्ने भएकाले पुनः विवरण भर्नुपर्ने झन्झट हट्ने, गोपनीयता कायम रहने र सूचनाको सुरक्षा सुनिश्चित हुने बैंकले जनाएको छ ।

नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि भने ग्राहकले नजिकको शाखामा गई वा भिडियो केवाईसीमार्फत प्रमाणीकरण गर्नुपर्नेछ ।

बैंकका अनुसार सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरु गरिएको यो सेवाले खाता खोल्ने प्रक्रियालाई थप सहज, सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउनेछ । ग्राहकलाई आधुनिक डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकको छ । 

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

हाल बैंकले ३४२ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update