काठमाडौं । नेपालमा घर, फ्ल्याट, सटर तथा व्यावसायिक भवनको व्यवस्थापनलाई डिजिटल बनाउने उद्देश्यले एजिनेक्स क्लाउडले ‘भाडासेवा’ नामक क्लाउड–आधारित प्रणाली सार्वजनिक गरेको छ। ‘व्यवस्थित र सुमधुर सम्बन्धका लागि भाडासेवा’ मूल नारासहित आएको यो प्रणालीले कागजी अभिलेख र एक्सेल फाइलको झन्झट अन्त्य गर्दै घरभाडा व्यवस्थापनका सम्पूर्ण प्रक्रियालाई एकै डिजिटल प्लेटफर्ममा समेटेको छ।
यस प्रणालीमार्फत प्रयोगकर्ताले भवन तथा कोठाहरुको रियल–टाइम अनुगमन, भाडावालाको डिजिटल प्रोफाइल, अनलाइन सम्झौता र डिजिटल हस्ताक्षर गर्न सक्नेछन्। साथै, मासिक भाडा र बिजुली–पानीको बिल स्वतः तयार हुने, अनलाइन भुक्तानी गर्न मिल्ने तथा स्वचालित रसिद आउने सुविधा यसमा रहेको छ।
अपार्टमेन्ट तथा व्यावसायिक कम्प्लेक्सका साझा खर्च (CAM) व्यवस्थापन, मर्मतसम्भार ट्र्याकिङ, कर्मचारी व्यवस्थापन र आम्दानी–खर्चको विस्तृत रिपोर्टिङसमेत यसैबाट गर्न सकिन्छ।
साना घरधनीदेखि ठूला सपिङ मल र व्यावसायिक कम्प्लेक्ससम्मका लागि उपयोगी यो प्रणाली कम्प्युटर, ट्याब्लेट र मोबाइलबाटै सजिलै चलाउन सकिन्छ।
