News 24 Television
ट्राइडेन्ट ग्रुप नेपाल प्रवेश : जेम होम कलेक्सन आधिकारिक वितरक नियुक्त

काठमाडौं। भारतको अग्रणी होम टेक्सटाइल कम्पनी ट्राइडेन्ट ग्रुपले नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। कम्पनीले नेपालका लागि आफ्ना होम टेक्सटाइल उत्पादनहरूको एकमात्र आधिकारिक वितरकको रूपमा जेम होम कलेक्सन प्राइभेट लिमिटेडलाई नियुक्त गरेको घोषणा गरेको छ। यस सहकार्यसँगै नेपाली उपभोक्ताहरूले अब ट्राइडेन्टका प्रिमियम बेड लिनेन, बाथ लिनेन, तौलियालगायतका होम टेक्सटाइल उत्पादनहरू आधिकारिक तथा भरपर्दो माध्यमबाट प्राप्त गर्न सक्नेछन्। 

यसअघि नेपाली बजारमा ट्राइडेन्टका उत्पादनहरू प्रायः अनौपचारिक माध्यमबाट भित्रिने गरेकोमा यस नियुक्तिपछि गुणस्तर र प्रामाणिकताको सुनिश्चितता हुने कम्पनीहरूको दाबी छ। यस साझेदारीले नेपालमा अन्तर्राष्ट्रियस्तरका होम टेक्सटाइल उत्पादनहरूको पहुँच विस्तार गर्ने र नेपाली ग्राहकहरूलाई विश्वस्तरीय गुणस्तर, आधिकारिक आपूर्ति शृंखला तथा उत्कृष्ट ग्राहक सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

जेम होम कलेक्सन प्राइभेट लिमिटेड विगत ३० वर्षदेखि नेपालको फ्लोरिङ तथा फर्निसिङ क्षेत्रमा सक्रिय रहेको कम्पनी हो। यसले आतिथ्य र खुद्रा दुवै बजारका लागि विविध गुणस्तरीय उत्पादनहरू निरन्तर आपूर्ति गर्दै आएको छ। यही दीर्घकालीन बजार अनुभव र स्थापित वितरण सञ्जालका कारण कम्पनीलाई ट्राइडेन्टको आधिकारिक साझेदारका रूपमा छनोट गरिएको बताइएको छ।

ट्राइडेन्ट ग्रुपको स्थापना सन् १९९० मा भारतीय उद्यमी पद्मश्री राजिन्दर गुप्ताले पञ्जाबबाट सुरु गरेका थिए। सुरुमा एउटा मात्र धागो उत्पादन एकाइबाट सुरु भएको यो समूह हाल विश्वकै सबैभन्दा ठूला टेरी तौलिया उत्पादक र समग्र होम टेक्सटाइल उत्पादकहरूमध्ये एक बनेको आर्थिक हिसाबले हेर्ने हो भने पछिल्लो प्रतिवेदन अनुसार ट्राइडेन्ट ग्रुपले आर्थिक वर्ष २०२६ मा ६५ अर्ब २१ करोड भारतीय रुपैयाँ बराबरको आम्दानी हासिल गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा सामान्य घटेको भए पनि खुद नाफा भने बढेको थियो। 

चालु आर्थिक वर्षको हालसालैको प्रगति हेर्दा पनि, पहिलो त्रैमासमा आम्दानी १ हजार ८ सय ३० करोड रुपैयाँ पुगेको र खुद नाफा ५५ प्रतिशतले वृद्धि भएको देखिन्छ। कम्पनीको समग्र आकारका सन्दर्भमा हेर्दा, ट्राइडेन्ट ग्रुप इन्डियामा हाल १६ हजार ३ सय तीनजना कर्मचारी कार्यरत रहेका छन् र यसको बजार पूँजीकरण करिब १।३२ बिलियन डलर बराबर रहेको पाइन्छ। समूह लामो समयदेखि आफूलाई एक बिलियन डलरभन्दा बढी मूल्यको वैश्विक व्यापारिक समूहको रूपमा चिनाउँदै आएको छ, जसको होम टेक्सटाइल, कागज र रसायन क्षेत्रमा सशक्त उपस्थिति रहेको दाबी गरिन्छ।

यसआधिकारिक वितरण सम्झौतापछि नेपाली उपभोक्ताहरूले अन्तर्राष्ट्रिय स्तरका होम टेक्सटाइल उत्पादनहरू प्रामाणिकताको सुनिश्चितताका साथ प्राप्त गर्न सक्नेछन् भने होटल तथा रिसोर्ट जस्ता आतिथ्य व्यवसायहरूले पनि विश्वसनीय आपूर्ति स्रोत भेट्टाउने अपेक्षा गरिएको छ। साथै यसले नेपालको होम फर्निसिङ बजारमा स्वस्थ प्रतिस्पर्धा र गुणस्तर सुधारमा समेत योगदान पुर्‍याउने कम्पनीको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update