काठमाडौं । मलेसिया रोजगारीमा एकाधिकार (सिण्डिकेट) लगाउन खोजिएको भन्दै वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित विभिन्न संगठनहरूले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसियसनको आयोजनामा शुक्रबार काठमाडौंमा वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले यस्तो चेतावनी दिएका हुन् ।
एसोसियसनले मलेसिया रोजगारीमा केही व्यवसायीहरूले सिण्डिकेट लगाउन खोजेको भन्दै छलफल आयोजना गरेको महासचिव सुमनराज पाण्डेले बताए । ‘केही व्यवसायीहरूको निहित स्वार्थमा मलेसिया रोजगारीमा सिण्डिकेट लगाउन खोजिएको छ । यो विल्कुल गलत छ,’ महासचिव पाण्डेले भने, आजबाट सरोकारवालाहरूसँग छलफल शुरू भएको छ । सिण्डिकेट लागू भयो भने हामी आन्दोलनमा उत्रन्छौं । एसोसियसनले वैदेशिक रोजगार व्यवसायी संघले सिण्डिकेटविरूद्द पहल नगरे एक्लै भएपनि संघर्षमा उत्रने तयारी गरेको छ ।

छलफलमा एसोसियसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, कुमुद खनाल, दीपक थापा, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष भुवनसिंह गुरूङ,संघका पूर्वमहासचिव मेघनाथ भुर्तेल, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका उपाध्यक्ष सरिता घले, नेपाल वैदेशिक रोजगार व्यवसायिक गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैशी, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका कार्यवाहक अध्यक्ष मीन प्रसाद गोलेसहित तामाङ समान, नेवा समाज, मगर समाज, महिला संघलगायत थुप्रै घटक संस्थाहरू सहभागी थिए ।
उनीहरूले व्यवसायीहरूको छाता संस्था वैदेशिक रोजगार व्यवसायी संघको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । एसोसियसनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले सिण्डिकेटविरूद्द संघको ध्यानाकर्षण गराउने बताए ।
