News 24 Television
निर्मल पुर्जासहित सबै आरोहीको निधन, कस्ता थिए कीर्तिमानी ?

काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जासहितका १० जनाकै निधन भएको छ। बिहीबारदेखि हराइरहेका पुर्जाको निधन भएको उनी संस्थापक रहेको संस्था एलिट एक्सपेडले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको छ। विश्वविख्यात पुर्जाको निधनले विश्वभर शोकको अवस्था बनेको छ । 

’आज, अत्यन्तै दुःख र मर्माहत हृदयका साथ हामी यो पुष्टि गर्दछौं कि ब्रोड पिकमा गएको हिमपहिरोमा परी निर्मल “निम्सदाइ“ पुर्जाले दुःखद रूपमा आफ्नो ज्यान गुमाउनुभएको छ। साथै, यस अभियानमा संलग्न अन्य सदस्यहरू पनि जीवित रहन नसकेको पुष्टि भएको छ।’ विश्व कीर्तिमानका लागि परिचित पुर्जासहित १० जनाले नै ज्यान गुमाएको घटनाले विश्वभर शोक मनाउन थालिएको छ। 

१० जनाले नै गुमाए ज्यान

बिहीबार बिहान करिब ६ हजार ७ सय मिटरको उचाईमा पुगेपछि खसेको हिमपहिरोमा परी उनीहरु वेपत्ता भएका थिए। आरोहण दलको नेतृत्व गरेका पुर्जासहित विभिन्न देशमा आरोहीको खोजी तीब्र पारिएको थियो। हिमपहिरोमा परी ज्यान गुमाउनेहरुमा नेपालका पुरबहादुर गुरूङ,  किली पेम्बा शेर्पा ’किलु’, निमा शेर्पा र नवाङ थिन्डु शेर्पा, ओमानका नधिरा अहमद अब्दुल्लाह अल हार्थी, अमेरिकी आरोही मालोरी गाइस, पाकिस्तानका सोहेल साखी र चीनका वाङ जोङ रहेका छन्। तीन जनाको शव शुक्रबार नै फेला परेको थियो भने पुर्जासहित अन्यको निधनको पुष्टी आजमात्रे भएको हो। 

निर्मलको भावुक पोस्ट

निर्मल पुर्जाले ब्रोक पिक चढ्नुअघि सामाजिक सञ्जालमा लामो सन्देश लेखेका थिए। उनले ब्रोड पिक चढ्ने योजना नभएको समेत उल्लेख गरेका थिए। तर, उनले प्रार्थना गर्दै लेखेका थिए, ‘ब्रोड पिक– म तिमीसँग केवल एउटा कुरा माग्छु–मलाई सुरक्षित रूपमा माथि पुग्न र फेरि सुरक्षित रूपमा फर्किन देऊ ।’ यहि सन्देशमा उनले कुनै पनि हिमाललाई हल्का रुपमा नलिने जिकिर गरेका पुर्जा अब कहिल्यै नफर्किने गरि अस्थाएका छन्। 

‘बेसक्याम्पबाट पहिलो पाइला चाल्नेबित्तिकै मेरो सम्पूर्ण समर्पण त्यही अभियानमा हुन्छ । सधैं त्यस्तै थियो । सधैं त्यस्तै रहनेछ,’ पुर्जाको अन्तिम सन्देश समेत यहि बन्न पुगेको छ । 

पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । ८ हजार मिटर माथिका हिमाल आरोहण रेकर्ड हेर्दा यस पटक ब्रोड पिक चढेका भए चोयुबाहेक ८ हजार मिटर माथिका १४ वटै हिमाल विनाअक्सिजन दुई पटक आरोहण गर्ने विश्व कीर्तिमान उनको नाममा दर्ज हुने निश्चित थियो । अघिल्लो सातामात्र उनले पाकिस्तानको गसेरब्रम २ आरोहण गरी ५७औं आरोहण पूरा गरेका थिए । यस पटक ब्रोड पिक आरोहणको योजनामा भने नरहेको पनि उनले स्टाटसमा उल्लेख गरेका थिए ।

बेलायती सेनादेखि हिमालसम्म

म्याग्दीका निर्मल पुर्जा १८ वर्षको उमेरमै बेलायती सेनामा भर्ति भएका थिए। लामो समय बेलायतमै विताएका उनी बेलायती नागरिक समेत हुन्।पुर्जा १८ वर्षको उमेरमा सन् २००३ मा बेलायती सेनामा भर्ती भएका थिए । त्यसपछि सन् २००९ मा उनी रोयल मरिन्समा आबद्ध भए । 

उनले आफ्ना बुबा र दाजुहरूको बाटो पछ्याएका थिए । उनका बुबा र दाजुहरू सबै गोर्खा सैनिक थिए । गोर्खा सैनिकहरू नेपाली सैनिकहरूको प्रसिद्ध समूह हुन्, जसले २०० वर्षभन्दा बढी समयदेखि बेलायती सेनामा सेवा गर्दै आएका छन् । 

१६ वर्ष बेलायती सेनामा विताएका उनी पर्वतारोहणसम्बन्धि विशेष रुची राख्ने गर्थे। उनको असाधारण पर्वतारोहण उपलब्धिका लागि सन् २०१८ मा तत्कालीन बेलायती महारानी एलिजाबेथ द्वितीयले एमबीई (मेम्बर अफ द अर्डर अफ तजभ ब्रिटिस इम्पायर) सम्मान प्रदान गरेकी थिइन्। यो उत्कृष्ठ उपलब्धिका लागि प्रदान गरिने नागरिक सम्मान भएको बताइन्छ। उनी नेपाली मुलका बेलायती नागरिक भएपनि उनको निधनले नेपाल शोकमा डुबेको छ।

प्रधानमन्त्रीको श्रद्धाञ्जली

प्रधानमन्त्री वालेन्द्र शाहले निर्मल पुर्जासहित ब्रोड पिक आरोहणको क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री शाहले लेखेका छन्, ’विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ ।

 निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ । 

सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली ।’ उसोतः प्रधानमन्त्री शाहले हिमाल आरोहण शिखर चुम्ने यात्रा मात्रै नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भन्दै हिमालले गौरव दिने तर, कहिलेकाँही आफ्नै काखमा सधैका लागि अंगालेर राख्ने बताएका छन्। 

उनीहरुको समर्पणको इतिहास कहिल्यै नमर्ने भनेका शाहले शोक व्यक्त गरेका हुन्। उसोतः निर्मलसहितका आरोहीको निधनमा नेपाल शोकमा डुबेको छ भने विश्वभर नै यसको चर्चा र शोक व्यक्तको क्रम चलिरहेको छ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update