काठमाडौं । सुनसरीको देवानगन्जमा आइतबार भएको दुई समूहबीचको झडपपछि विग्रिएको परिस्थिति सामान्य बन्दै गएको छ । सुनसरीबाट मधेसका जिल्लातर्फ परेको बाछिटा पनि कम हुँदै गएको छ ।
स्थिति सामान्य बन्दै गएपछि धनुषा, सिरहा, सुनसरी, सप्तरीमा र वीरगन्जमा लगाइएको कफ्र्यु हटाएर निषेधाज्ञा मात्र जारी गरिएको छ । विशेषगरी अहिले भइरहेको घटनामा सुरक्षा निकायको मूल्यांकन के छ ? अनि तनाव न्यूनीकरण र सद्भाव कायम गर्न सुरक्षा निकायले के गरिरहेको छ त ?
दुई समुदायबीच उत्पन्न तनाव मत्थर पार्न सुरक्षा निकायले विभिन्न रणनीति अपनाएको छ । त्यस मध्येको पहिलो रणनीति हो– उच्च अधिकारीहरूलाई फिल्डमा खटाउने । नेपाल प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाउन ४ एआईजीसहित दुई दर्जनभन्दा बढी उच्च अधिकारीलाई कोशी र मधेश प्रदेशमा खटाएको छ । उनीहरूले त्यहाँको वस्तुस्थिति बुझेर केन्द्रमा रिपोर्ट पठाउने र त्यसैका आधारमा जनशक्ति खटाउने तयारी गरिएको छ ।
प्रहरीका उच्च अधिकारीहरु को कहाँ ?
प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहलाई बाँके, उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु र ईश्वर कार्कीलाई सुनसरी पठाइएको छ । प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलाई सिरहा र अभिनारायण काफ्लेलाई सप्तरीमा खटाइएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईलाई सर्लाही, सोमेन्द्रसिंह राठौरलाई पर्सा, दीपशमशेर राणालाई रौतहट, नवराज अधिकारीलाई चितवन, कृष्णप्रसाद पंगेनीलाई महोत्तरी र होविन्द्र बोगटीलाई बारामा पठाइएको छ। त्यसैगरी, ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, भुवनेश्वर तिवारीलाई धनुषा र अमरेन्द्रबहादुर सिंहलाई मधेस प्रदेशमा खटाइएको छ ।
उनीहरुले विकसित घटनाक्रमअनुसार सुरक्षा व्यवस्थापन गर्ने, जनशक्ति तथा स्रोतसाधन परिचालनको प्रभावकारिता मूल्यांकन गर्ने र आवश्यक नीति निर्देशन दिनेछन् । उनीहरूलाई सुरक्षा योजना कार्यान्वयन, सूचना संकलन र विश्लेषणलगायत जिम्मेवारी पनि दिइएको छ।
सुरक्षा चुक भएको निष्कर्ष
लगातार बसेका सुरक्षा बैठकले सुनसरी घटनामा सुरक्षा चुक भएको निष्कर्ष निकालेका छन्। सूचना संकलन र विश्लेषणमा सुरक्षा निकायले सन्तोषजनक काम गर्न नसकेको बैठकको निष्कर्ष छ । घटनालाई सामान्य रूपमा लिएर बेलैमा नियन्त्रणको प्रयास नगर्दा मानवीय तथा भौतिक क्षति बढेको पनि बैठकको विश्लेषण छ ।
यसैलाई मध्यनजर गरेर सुरक्षा निकायले सीमा क्षेत्रबाट आउने नयाँ व्यक्तिलाई निगरानीमा राखिएको छ । ड्रोनबाट हुने अनुगमनलाई पनि सक्रिय बनाइएको छ ।
दोस्रो सुरक्षा रणनीति हो–दुई पक्षलाई भेट हुन नदिने ।
सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि तत्काल दुई पक्षलाई टाढै राख्ने गृह प्रशासनको तयारी छ ।
त्यसैगरी सुरक्षा निकायले बनाएको तेस्रो रणनीति हो– सुरक्षा फोर्सको तैनाथी ।
तनाव देखिएका कोशी र मधेशबाहेकका प्रदेशमा पनि अहिले सुरक्षा फोर्सलाई सतर्क अवस्थामा राखिएको छ ।
केही अप्ठ्यारो पर्ने अवस्था आएमा आवश्यक संख्यामा सुरक्षा फोर्सलाई तनाव देखिएका क्षेत्रमा पठाउने तयारी भइरहेको छ । तनाव न्यूनीकरणको चौंथो रणनीति हो– मठमन्दिर तथा मस्जिदहरू रहेका क्षेत्रमा अतिरिक्त सुरक्षा सतर्कता ।
फिल्डमा खटिन नपर्ने सुरक्षा फोर्सलाई धार्मिक स्थलहरूमा खटाइएको छ ।
अहिलेसम्म प्रहरीले साम्प्रदायिक÷सामाजिक सद्भावमा खलल पुरÞ्याएको भन्दै प्रहरीले ६५ जना व्यक्तिहरू पक्राउ गरेको छ । सिरहमा ५ जना, धनुषामा ४५ जना, सर्लाही ५ जना , महोतरीमा २ जना ,पर्सामा १ जना,सप्तरीमा १ जना ,सुनसरीमा २ जना ब्यक्तिहरु प्रहरीले प्रकाउ गरेको छ । सुरक्षा निकायले कुनै पनि किसिमका भ्रामक सामग्री सम्प्रेषण नगर्न तथा अनावश्यक उत्तेजित नहुन समेत भनेको छ ।
पाँचौँ सुरक्षा रणनीति हो– समन्वयको । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जनप्रतिनिधि, धर्मगुरु तथा सुरक्षा निकायले छलफल र समन्वय गरिरहेका छन् ।साथै जनप्रतिनिधि र स्थानीय बासिन्दालाई गाउँ टोलमा नयाँ मान्छे आएमा सुरक्षा निकायलाई खबर गर्न पनि भनिएको छ ।
छैठौं सुरक्षा रणनीतिअनुसार सीमा नाकाबाट घुसपैठ हुनसक्ने परिस्थितिको जोखिम आकलन गर्दै त्यहाँ पनि सतर्कता अपनाइएको छ । सबै सुरक्षा रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न गृहसचिवको संयोजकत्वमा प्रहरी महानिरीक्षकसहितको कमान्ड फोर्सले एकीकृत सूचनासमेत संकलन गरिरहेको छ ।
सुनसरी घटनाबारे अनुसन्धान भइरहेकाले प्रतिवेदन नआएसम्म दोषी किटान गर्न नसकिने अवस्था रहेको सुरक्षा निकायको भनाइ छ ।
