ललितपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय समितिले फोनिजको २७औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको पत्रकारिता क्षेत्रप्रतिको योगदानबारे अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ ।
ललितपुर उद्योग वाणिज्य संघ, मंगलबजार, पाटनमा आयोजित कार्यक्रममा वक्ताहरूले नेपाली पत्रकारिताको संस्थागत विकास, पत्रकारहरूको हकहितको संरक्षण तथा व्यावसायिक पत्रकारिताको आधार निर्माणमा सत्यनारायण बहादुर श्रेष्ठले पुर्याएको योगदान ऐतिहासिक र प्रेरणादायी रहेको बताए।
वक्ताहरूले पत्रकारितालाई लोकतान्त्रिक मूल्य–मान्यता, अभिव्यक्ति स्वतन्त्रता तथा उत्तरदायी सञ्चार अभ्याससँग जोड्न श्रेष्ठले खेलेको भूमिकाको स्मरण गर्दै नयाँ पुस्ताका पत्रकारले उहाँको योगदानबाट प्रेरणा लिनुपर्ने धारणा व्यक्त गरे।

श्रेष्ठले वि.सं. २००८ सालमा उहाँको नेतृत्वमा नेपाल पत्रकार संघ गठन भएको थियो, जसलाई नेपालमा पत्रकारहरूको पहिलो संगठित पेशागत संस्था मानिन्छ। पत्रकारहरूलाई एउटै छातामुनि संगठित गर्ने, उनीहरूको पेशागत हक–हितको आवाज उठाउने तथा पत्रकारितालाई संस्थागत स्वरूप दिन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको विभिन्न ऐतिहासिक दस्तावेज र अनुसन्धानहरूले उल्लेख छ।
यद्यपि, नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको विषय लामो समयदेखि विवादमा छ। एक पक्षले सत्यनारायण बहादुर श्रेष्ठलाई नै संस्थापक अध्यक्ष मान्नुपर्ने तर्क गर्दै आएको छ भने नेपाल पत्रकार महासंघले भने पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्षका रूपमा लिएका छन् ।
यही विषयलाई लिएर फोनिजलगायत विभिन्न संघसंस्थाहरूले ऐतिहासिक तथ्य र दस्तावेजका आधारमा सत्यनारायण बहादुर श्रेष्ठलाई आधिकारिक रूपमा संस्थापक अध्यक्ष घोषणा गर्न पटक–पटक माग गर्दै आएका छन्।
फोनिज उपत्यका समन्वय समितिले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी नेपाली पत्रकारिताका अग्रज व्यक्तित्वको योगदानबारे विमर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।
