News 24 Television
वित्तीय क्षेत्रको निष्पक्षता नै अर्थतन्त्रको मेरुदण्डः एक्यान अध्यक्ष नेपाल

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) का अध्यक्ष अनुप नेपालले वित्तीय क्षेत्रको निष्पक्षता नै अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । 

नेपाल अडिटर्स एसोसिएसन (अडान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्रमा पारदर्शिता र वित्तीय सुशासन कायम गर्न लेखापरीक्षण क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । उनले राज्यको राजस्व सङ्कलनलाई पारदर्शी बनाउन र व्यावसायिक क्षेत्रमा विश्वास अभिवृद्धि गर्न लेखापरीक्षकहरूले गरेको योगदानको प्रशंसा गरे ।  

एक्यान र अडान दुवै संस्थाको साझा लक्ष्य नेपाली लेखा व्यवसायलाई थप मर्यादित, पारदर्शी र उत्तरदायी बनाउनु रहेको भन्दै उनले पेसागत हकहित र नीतिगत सुधारका लागि सहकार्य आवश्यक रहेको बताए । 

उनले आजको समय प्रविधिमैत्री युग रहेको भन्दै यसमा पनि अडिटर्सहरुले आफूलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड र कर प्रणालीका नयाँ चुनौतीहरूको सामना गर्नका दक्षता अभिवृद्धि गर्नुपर्ने उनको सुझाव छ । पछिल्लो समयको एआई प्रविधिहरुबाट कोही पनि आतंकित हुनु नपर्ने भन्दै प्रविधिलाई केवल एउटा साधनका रूपमा लिन उनले आग्रह गरे ।

उनले क्याल्कुलेटरको आविष्कारको उदाहरण दिँदै क्याकुलेटर आज सामान्य र आवश्यक भएजस्तै एआई जस्ता प्रविधिहरु आगामी दशकमा उस्तै अत्यावश्यक बन्ने बताए । 

खासगरी उच्च व्यावसायिक नैतिकता, निष्पक्षता र इमानदारितालाई आत्मसाथ गरि समाज र राज्यको लेखापरीक्षण पेशाप्रतिको विश्वासलाई मजबुत बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update