News 24 Television
महारथीको सम्मान लिन नेपाल आउँदै जनरल सेठ

काठमाडौं । नेपाल–भारत सैनिक सम्बन्धको पुरानो परम्परालाई निरन्तरता दिन भारतीय स्थल सेनाप्रमुख जनरल धीरज सेठ साउन ३१ गते नेपाल भ्रमणमा आउँदैछन् । मानार्थ महारथीको सम्मान पाउने जनरल सेठको यो भ्रमणसँगै गोर्खा भर्ती, अग्निपथ योजना र सीमामा नेपाली नागरिकमाथि हुने व्यवहारका विषय पनि चर्चामा छन् ।

भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ पाँच दिने औपचारिक भ्रमणका लागि साउन ३१ गते अर्थात् अगस्ट १६ मा नेपाल आउँदैछन् । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई नेपाल–भारत सैनिक सम्बन्धको निरन्तरताका रूपमा हेरिएको छ । 

भ्रमणका क्रममा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरिने कार्यक्रम छ । सन् १९५० देखि नेपाल र भारतले एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान प्रदान गर्दै आएका छन् । यो परम्परालाई दुई देशबीचको विश्वास, मित्रता र सैनिक सहकार्यको एउटा विशिष्ट प्रतिक मानिएको छ । 

यसअघि २०८१ मंसिर २७ गते नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई भारतको नयाँदिल्लीमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी थिइन् ।

नेपाल–भारत सैनिक सम्बन्ध ! 

नेपाल र भारतबीचको सैनिक सम्बन्ध शताब्दीयौँ पुरानो मानिन्छ । स्वतन्त्र भारत र नेपालबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धिपछि दुई देशबीचको रक्षा सहकार्य अझ संस्थागत बनेको हो । दुवै देशका सेनाले संयुक्त सैन्य अभ्यास सूर्य किरण, विपद् व्यवस्थापन, सीमा सुरक्षासम्बन्धी समन्वय, तालिम आदान–प्रदान तथा उच्च तहका भ्रमणलाई निरन्तरता दिँदै आएका छन् । 

यस्तै नेपाली नागरिक भारतीय सेनामा भर्ती हुने व्यवस्था पनि दुई देशबीचको विशेष सम्बन्धको अर्को आधार हो । 

गोर्खा सैनिकका रूपमा नेपाली युवाले करिब दुई सय वर्षदेखि भारतीय सेनामा सेवा गर्दै आएका छन् । अहिले पनि हजारौँ नेपाली नागरिक भारतीय सेनाका विभिन्न गोर्खा रेजिमेन्टमा कार्यरत छन् भने ठूलो संख्यामा पूर्वगोर्खा सैनिकले पेन्सन र अन्य सुविधा प्राप्त गरिरहेका छन् ।

अग्निपथले रोकिएको भर्ति !

तर पछिल्ला वर्षमा भारतीय सेनाको अग्निपथ योजना लागू भएपछि नेपाली नागरिकको भर्ती प्रक्रिया प्रभावित भएको छ । नेपाल सरकारले अग्निपथ योजनाबारे औपचारिक धारणा नटुंग्याएको भन्दै नेपाली युवाको भारतीय सेनामा नयाँ भर्ती रोकिएको अवस्था छ । 

चार वर्षे कार्यकाल र त्यसपछि २५ प्रतिशतलाई मात्रै नियमित सेवामा राखिने अग्गिपथ अन्तर्गतको मापदण्डका कारण लामो समयदेखि कायम रहेको गोर्खा भर्ती रोकिएको हो । यो विषयमा दुवै देशबीच कूटनीतिक तहमा छलफल हुँदै आएको छ । 

सीमा दुखेको सम्बन्ध !

नेपाली सेना र भारतीय सेनाबीच मानार्थ महारथीको विशिष्ट परम्परा रहँदा रहँदै पनि सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली नागरिकमाथि गर्ने दुव्र्यवहारका घटना बेलाबेला सार्वजनिक हुँदै आएका छन् । 

एसएसबीले सीमा क्षेत्रमा कुटपिट, अनावश्यक नियन्त्रण, गोली चलाइएका घटना तथा नेपाली नागरिकमाथि भएको दुव्र्यवहारले नेपाली नागरिकले अक्सर भारतसँग चित्त दुखाउनु परेको छ । यस्ता घटनापछि नेपाली पक्षबाट कूटनीतिक विरोध भएपनि दीर्घकालीन समाधान भने हुन सकेको छैन । 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update