News 24 Television
स्तनपान प्रवद्र्धनमा जोड, दोलखामा स्वास्थ्य सचेतना

दोलखा । जीवनको दिगो सुरुवातका लागि स्तनपान प्रभावकारी कार्यहरूको सुदृढीकरण“ भन्ने नारासहित दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित माटी स्वास्थ्य चौकीमा विश्व स्तनपान सप्ताह–२०२६ मनाइएको छ । कार्यक्रममा गर्भवती तथा सुत्केरी आमाहरूलाई स्वास्थ्य सेवा, पोषण सामग्री वितरण तथा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गरिएको छ । 

विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा दोलखामा आयोजित कार्यक्रममा धुलिखेल अस्पताल दोलखाका विशेषज्ञ चिकित्सकहरूले गर्भवती महिलाको स्वास्थ्य परीक्षण, अल्ट्रासाउन्ड, स्वास्थ्य परामर्श तथा स्तनपान र शिशु पोषणबारे अभिमुखीकरण गरेका छन् ।

कार्यक्रममा गर्भवती तथा सुत्केरी आमालाई पोषण सामग्री, ब्ल्यांकेट तथा महिला स्वास्थ्य स्वयंसेविका र माटी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई छाता वितरण गरिएको छ । ती सामग्री पूर्व स्वास्थ्य चौकी प्रमुख रामकृष्ण मास्केको पहलमा विभिन्न दाताबाट संकलन गरिएको हो । 

कार्यक्रममा जिल्लाको स्वास्थ्य अवस्था, शिशु स्वास्थ्यमा आमाको दूधको महत्व र स्तनपान प्रवद्र्धन अभियानबारे जानकारी गराइएको छ । समुदायस्तरमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ । 

भीमेश्वर नगरपालिकाले मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य संस्थासँगको सहकार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ । 

नेपाल क्षयरोग निवारण संस्थाले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ । 

कार्यक्रममा गर्भवती तथा सुत्केरी आमाहरूलाई स्वास्थ्य सेवा, पोषण सामग्री वितरण तथा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई सम्मान गर्दै स्तनपानको महत्व समुदायसम्म पु¥याउने प्रयास गरिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update