News 24 Television
सेती नदि थुनिएर ताल बन्यो, स्थानीय जाग्राम बस्न बाध्य

कास्की । केहि दिन यताको निरन्तर वर्षाले पोखराको रामघाटमा सेती नदी थुनिएर विशाल ताल बनेको छ । जसका कारण नदिसँगै जोडिएका सुकुम्बासी बस्ती बाढीले बगाउने जोखिममा रहेका छन् ।

सेती नदीलाई लिएर पोखराको भौगोलिक बनावट अत्यन्त जोखिममा रहेको चर्चा गरिन्छ , तर सेतिले निम्त्याएको जोखिम न्यून गर्न भने कुनै निकायको ध्यान पुग्न सकेको छैन । झट्ट हेर्दा यो दृश्य कुनै तालको होला भन्ने लाग्न सक्छ, तर नझुक्किनुस् यो कुनै ताल भने होइन । 

केहीदिन यता निरन्तर परेको वर्षको कारण सेती नदीमा पानीको बहाव निकै उच्च छ । हो पोखरा रामघाटमा फराकिलो रहेको सेती नदीको निकास सानो हुँदा पानी जान नसकेर विशाल ताल नै बनेको छ । सेती नदी थुनिएर ताल बन्दा अहिलेसम्म क्षति त भएको छैन तर संभावित क्षतिको जोखिम भने निकै बढेको छ । 

दाह संस्कारका लागि बनाइएका घाटहरु पुरै जलमग्न बनेका छन् । सेती किनारसँगै दुई दर्जन बढी सुकुम्बासी बस्ती छ, बर्खा लागे पछि कतिबेला बाढीले बगाउने हो भनेर जाग्राम बस्नु पर्ने अवस्था छ । अहिले ३ वर्ष यताकै ठूलो र डरलाग्दो तरिकाले सेती बढेको स्थानीय बताउँछन् ।

सेती नदी पोखराको अधिकांस भागमा भूमिगत भएर बगेको छ । पोखराको बीच भाग अर्थात् रामघाटमा भने सेती सतहमा देखिन्छ । यस आसपासको क्षेत्र अत्यन्त जोखिममा रहेपनि सुकुम्बासीका नाममा बस्ती बस्ने क्रम भने नरोकिदो जोखिम झनै बढ्दैछ । पछिल्लो समय झनझन गहिरिदै गएको सेती खोंच र निरन्तरको बर्षाका कारण कतिबेला ठूलो दुर्घटना निम्तिने भन्ने इतिहासविद्को चिन्ता छ ।

पोखराको भू–बनोट र निरन्तर वर्षाले भासिन सक्ने सम्भाव्यताले पोखरालाई वर्षेनी जोखिम तर्फ धकेलेको भूगोलविद्को बुझाई छ । नदी थुनिएर आफ्नो गतिमा जान नपाउँदा निरन्तर जमिनलाई खियाउनाले जोखिम बढेको भूगोलविद् कृष्ण प्रसाद पौडेल बताउँछन् ।

पोखराको भू–बनोट, बेलाबेलामा भएका जमीन भासिने घटना र भूमिगतरूपमा बगेको सेतीका कारण पोखराको जोखिमबारे बेलाबेला चर्चा हुने गर्दछ, तर त्यो चर्चालाई दीर्घकालीन समाधानको बाटोतर्फ भने कुनै निकायले लैजान सकेका छैनन् ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update