काठमाडौं । बाग्मती प्रदेशको राजधानी हेटौँडामा पर्यटन वर्ष–२०८३ लाई लक्षित गर्दै ‘शून्य फोहोर’ अभियान सञ्चालन गरिएको छ । ‘जाऔँ हेटौंडा, रमाऔँ हेटौंडामा’ भन्ने मूल नारासहित मनाइन लागिएको पर्यटन वर्ष २०८३ को पहिलो र प्रमुख कार्यक्रमका रूपमा ‘शून्य फोहोर’ अभियान अन्तर्गत सरसफाइ थालिएको हो ।
यो वर्ष बाग्मतीको प्रादेशिक राजधानीस्थित हेटौँडा उपमहानगरपालिकाले पर्यटन वर्ष–२०८३ मनाउँदैछ । पर्यटन वर्षको कार्यक्रम अन्तर्गत सून्य फोहोर अभियान सञ्चालन गरिएको छ । यहि अभियान अन्तर्गत शनिवार हातमा कुचो र बोरा बोकेर जनप्रतिनिधि, सुरक्षाकर्मी, टोल विकास संस्थाका पदाधिकारी र स्थानीयवासी सडकमा निस्किए । हेटौँडाका सडकदेखि टोलसम्म सरसफाइ गर्दै उनीहरूले ‘शून्य फोहोर हेटौँडा’ अभियान शुरु गरेका हुन् ।
फोहोर व्यवस्थापनलाई केवल सरसफाइ अभियानका रूपमा नभई पर्यटन, वातावरण संरक्षण र नागरिक संस्कृतिसँग जोडिएको दीर्घकालीन अभियानका रूपमा अघि बढाइने योजना उपमहानगरपालिकाको छ । उपमहानगरपालिकाले ‘जाऔँ हेटौंडा, रमाऔँ हेटौंडामा’ भन्ने मूल नारासहित मनाइने पर्यटन वर्ष २०८३ को पहिलो र प्रमुख कार्यक्रमका रूपमा ‘शून्य फोहोर’ अभियान अघि सारिएको हो ।
मुख्य तथा सहायक सडक, सार्वजनिक स्थल र पर्यटकीय क्षेत्रको सरसफाइसँगै वृक्षारोपण र सौन्दर्यीकरणलाई पनि अभियानको प्राथमिकतामा राखिएको छ । टोल विकास संस्था नगर समन्वय समितिको संयोजनमा सुरु भएको अभियान नगरका ३ सय ७७ वटै टोल विकास संस्थामा सुरु गरिएको छ । पर्यटन वर्षको अवसरमा सुरु गरिएको ‘शून्य फोहोर हेटौँडा’ अभियानले नगरको स्वच्छता र सौन्दर्य कायम राख्दै हेटौँडालाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको दाबी छ ।
पर्यटन वर्ष–२०८३ मा हेटौँडामा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउने उपमहानगरपालिकाको लक्ष्य छ । पर्यटकलाई आकर्षित गर्न नयाँ गन्तव्यको प्रचारसँगै शहरको स्वच्छता, सौन्दर्य र व्यवस्थित वातावरणलाई पनि प्राथमिकतामा राखिएको छ ।
यही उद्देश्यले सुरु गरिएको यो अभियानलाई नगरका ३ सय ७७ वटै टोलसम्म विस्तार गरिँदैछ । टोल–टोलमा सरसफाइ र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउँदै हेटौँडालाई स्वच्छ, सुन्दर र पर्यटकमैत्री शहरका रूपमा विकास गर्ने र पर्यटन वर्षमा बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।
