News 24 Television
सर्वसाधारणको रकम गरिमा विकास बैंकले झ्वाम पार्दै, झ्वाम पार्ने को–को ?

काठमाडौं । के तपाईंको गरिमा विकास बैंकमा खाता छ ?के तपाईंले आफुले मेहेनत गरेको रकम गरिमा बिकास बैंकमा राख्नु भएको छ ? यदी छ भने तपाईंका लागि आज दुखको खबर छ । कारण हो, ग्राहकले राखेको रकम बैंकको भवन किन्दा अपचलन गरेर प्रचलित मूल्यभन्दा बढी मूल्यामा किनिएको छ । प्राविधिक मूल्याङ्कन प्रतिवेदन र प्रचलित बजार मूल्यलाई समेत लत्याउँदै बैंक व्यवस्थापनले ३५ करोड ४० लाख रुपैयाँभन्दा बढी मूल्य तिरेको छ । सर्वसाधारणले दुःख गरेर बैंकमा जम्मा गरेको निक्षेप सुरक्षित छ त?भन्ने प्रश्न पनि उठिरहेको छ । 

गरिमा विकास बैंकले काठमाडौँको बालुवाटारमा ३७ आनाभन्दा बढी जग्गा र त्यसमा बनेको घर खरिद गर्दा प्रचलित बजार मूल्य र स्वयं प्राविधिक मूल्याङ्कन प्रतिवेदनलाई समेत लत्याउँदै करिब ३५ करोड ४० लाख रुपैयाँभन्दा बढी मूल्य तिरिएको  भेटिएको छ। बजार मन्दीमा रहेका बेला प्राविधिक प्रतिवेदन भन्दा दोब्बर मूल्य हालेर जग्गा र भवन किनिएको छ । 

काठमाडौंको बालुवाटारमा कित्ता नम्बर ४९ मा रहेको २ रोपनी ५ आना १ पैसा अर्थात् ३७ दशमलव २६ आना जग्गा र ४७ हजार ६ सय २१ वर्गफिटको बनेको यो आरसीसी भवन शिखर इन्स्योरेन्सका पूर्वअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको २०८२ सालमा गरिमा विकास बैंकले केन्द्रीय कार्यालय बनाउन खरिद ग¥यो । 

बैंकले यो जग्गा खरिद गर्दा प्रतिआना १ करोड ५६ लाख १४ हजार ९२२ रुपैयाँ तिरेको देखिन्छ । अर्थात २ रोपनी ५ आना १ पैसाको जग्गाको मूल्या ५८ करोड १८ लाख १२ हजार रुपैयाँ बैकलाई पर्न गयो। अब यही जग्गामा रहेको यो भवनको क्षेत्रफल ४७ हजार ६ सय २१ वर्गफिट रहेको छ । 

बैंकले यो भवनको मूल्य ३९ करोड ३१ लाख ८८ हजार रुपैयाँमा खरिद गरेको देखिन्छ । वर्गफिटमा हिसाब गर्दा पनि प्रति वर्गफिट ८ हजार २ सय ५६ रुपैयाँमा खरिद गरको छ । तपाईलाई यो खरिद मूल्य सायद सामान्य नै लाग्यो होला? यो सामान्य घरजग्गा किनबेच देखिए तापनि, प्राविधिक प्रतिवेदन र बैंकको हालेको रकम जुधाउँदा भने ठूलो अन्तर देखिन्छ ।

प्राविधिक प्रतिवेदन र बजार मूल्यको वास्तविकता

पृथक इन्जिनियरिङ कन्सल्टेन्ट्सले बैंक धितोकै लागि तयार पारेको प्राविधिक मूल्याङ्कन प्रतिवेदन अनुसार सो क्षेत्रमा जग्गाको स्थानीय बजार दर प्रतिआना ८० लाख रुपैयाँ मात्र छ। स्थानीय व्यवसायीहरूका अनुसार पनि बजारको अधिकतम मूल्य ९० लाख रुपैयाँभन्दा बढी पर्दैन।

प्राविधिक मूल्याङ्कन प्रतिवेदनमा सडकको अधिकार क्षेत्र कट्टा गरी कायम भएको १ रोपनी १३ आना ३ पैसा जग्गाको कुल बजार मूल्य १७ करोड ७० लाख ९८ हजार मात्रै कायम गरेको छ । पृथक इन्जिनियरिङ कन्सल्टेन्ट्सले कमर्सियल भ्यालु अनुसार मूल्याङ्कनको निष्कर्ष भनेको २३ करोड ८३ लाख ९९ हजार यो जग्गाको मूल्या कायम गरेको छ । फेयर मार्केट भ्यालु अनुसार मूल्याङ्कनको निष्कर्ष भनेको १७ करोड ७० लाख ९८ हजार कायम गर्यो ।

डिस्ट्रेस भ्यालु अनुसार मूल्याङ्कनको निष्कर्ष भने १४ करोड १६ लाख ७८ हजार कन्सल्टेन्ट्सले कायम गरेको छ । तर बंैकले बैंकले भने सोही जग्गालाई ५८ करोड १८ लाखभन्दा बढी भुक्तानी गर्यो। यो खेल जग्गामा मात्र रोकिएन, भवन खरिदमा पनि उस्तै अस्वाभाविक मूल्या हालियो ।

४७ हजार ६ सय २१ वर्गफिट क्षेत्रफल रहेको सो भवनको मूल्य बैंकले ३९ करोड ३१ लाख ८८ हजार रुपैयाँ तय गरेर खरिद ग¥यो। अर्थात् प्रतिवर्गफिट ८ हजार २ सय ५६ रुपैयाँ!  निर्माण व्यवसायीहरूका अनुसार काठमाडौँमा अत्यन्त लक्जरियस सामग्री प्रयोग गर्दा पनि नयाँ भवन निर्माण खर्च प्रतिवर्गफिट अधिकतम ४ हजारदेखि ६ हजार रुपैयाँसम्म मात्र पुग्छ। प्रतिवर्गफिट ६ हजार नै मान्ने हो भने पनि २८ करोड ५७ लाख पर्ने भवनलाई बैंकले १० करोड ७४ लाख रुपैयाँभन्दा बढी अतिरिक्त मूल्य हालेर किनेको देखिन्छ । 

जग्गामा २४ करोड ६५ लाख र घरमा १० करोड ७४ लाख गरी कुल ३५ करोड ४० लाख रुपैयाँभन्दा बढी रकम बजार मूल्य र प्राविधिक मूल्याङ्कनभन्दा बढी मूल्य हालिएको छ । घर–जग्गा बजारमा मन्दी छाएका बेला प्रचलित भाउभन्दा निकै माथि गएर गरिएको यो निर्णयमा गरिमा विकास बैंकका सञ्चालक अनिल रेग्मी, ईश्वरीप्रसाद ढकाल र सीईओ माधवप्रसाद उपाध्याय लगायतको भूमिका देखिन्छ ।

सर्वसाधारण निक्षेपकर्ताको पसिनाको कमाईमाथि बैंकका सञ्चालक र उच्च व्यवस्थापनबाट भएको यो अस्वाभाविक खर्चले बैंकको संस्थागत सुशासन र नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको अनुगमनमाथि ठूलो प्रश्न खडा गरेको छ।

 


 

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update