काठमाडौं । नेपालका लागि याडिया (YADEA) को आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले नयाँ पुस्ताका GS70, GT70 र GTM90 विद्युतीय स्कुटरहरू नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र नेपाली सडक अनुकूल डिजाइन गरिएका यी स्कुटरहरूले दैनिक सहरी यात्रादेखि लामो दूरीको यात्रासम्मका फरक-फरक आवश्यकता पूरा गर्ने कम्पनीको भनाइ छ।
सार्वजनिक गरिएका तीन मोडेलमध्ये GS70 लाई दैनिक सहरी यात्राका लागि किफायती विकल्पका रूपमा तयार पारिएको छ। यसमा २.१ kWh LFP ब्याट्री र २.८ kW पिक मोटर दिइएको छ, जसले एकपटकको पूर्ण चार्जमा १०५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। लामो दूरीको यात्रा गर्नेहरूका लागि GT70 उपयुक्त छ, जसमा ५.७ kWh को डुअल LFP ब्याट्री (३.६ kWh फिक्स्ड र २.१ kWh रिमुभेबल) तथा ३.७ kW पिक मोटर रहेको छ। यसले २२० किलोमिटरसम्मको रेन्ज दिन्छ भने रिमुभेबल ब्याट्रीका कारण घर वा कार्यालयमा सहजै चार्ज गर्न सकिन्छ। प्रिमियम श्रेणीको GTM90 मा ३.६ kWh लिथियम ब्याट्री र ५ kW पिक मोटर जडान गरिएको छ, जसले ८० किमि प्रतिघण्टाको उच्च गति र १५० किलोमिटरसम्मको रेन्ज दिन्छ।
प्रविधि र सुरक्षाका हिसाबले यी नयाँ स्कुटरहरू निकै आधुनिक छन्। ती सबैमा TFT स्मार्ट डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, मोबाइल नेभिगेसन मिररिङ, याडिया स्मार्ट एप, कि-लेस प्रणाली र ५ जनासम्म प्रयोग गर्न मिल्ने 'फ्यामिली सेयरिङ' सुविधा उपलब्ध छ। यात्रालाई थप सुरक्षित र सहज बनाउन ट्र्याक्सन कन्ट्रोल सिस्टम (TCS), क्रुज कन्ट्रोल, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल र डुअल डिस्क ब्रेकजस्ता अत्याधुनिक प्रविधि समावेश गरिएका छन्।
कम्पनीले तीनै मोडेलका ब्याट्रीमा ३ वर्ष वा ५०,००० किलोमिटरसम्मको दीर्घकालीन वारेन्टी प्रदान गरेको छ। हाल यी स्कुटरहरू देशभर रहेका २० वटा आधिकारिक याडिया डिलरशिपहरू मार्फत उपलब्ध छन्। साथै, सार्वजनिक गरिएको अवसरमा नाइमा अटो शो (NAIMA Auto Show) सम्म लागू हुने गरी कम्पनीले तीनै मोडेलमा रु. १०,००० को विशेष नगद छुट दिएको छ। ग्राहकहरूले नजिकैको शोरुममा गई टेस्ट राइड तथा फाइनान्सिङ सुविधाबारे थप जानकारी लिन सक्नेछन्।
