News 24 Television
राडारमा गंगा, भानु र प्रकाश, देउवा–प्रचण्डका स्वकीयविरुद्ध अख्तियारको अनुसन्धान

काठमाडौं । अख्तियार सक्रिय बनेको छ। स–साना मुद्दामा अल्झिने गरेको अख्तियार पछिल्लो समय ठूला भनिएकाहरुसम्म पुग्ने प्रयास गरिरहेको छ। रत, अख्तियारले चालेका यस्ता कदमहरु कति सफल वा असफल त्यसको लेखाजोखा छुट्टे होला तर, शंका लागेका र आरोप खेपेकामाथिको अनुसन्धान हघि बढ्दा यसको प्रभावकारितामाथिका चासोहरु बढेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईजना पूर्वप्रधानमन्त्रीहरुका स्वकीय सचिव र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका पूर्वसहयोगीमाथि अनुसन्धान अघि बढाएको छ । अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवा र  पूर्वप्रधानमन्त्री प्रचण्डकी छोरी समेत रहेकी स्वकिय सचिव गंगा दाहालविरुद्ध अनुसन्धान गरिरहेको छ । 

यतिमात्रै नभई अख्तियारले पूर्वपरराष्ट्रमन्त्री तथा देउवा पत्नी आरजु राणा देउवाका सहयोगी समेत रहेका  सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश बहादुर देउवामाथि पनि अनुसन्धान गरिरहेको छ। जसमध्ये प्रकाश अहिले पनि अमेरिकामै रहेका छन्। प्रकाश आरजुको निकट सहयोगी रहेको बताइन्छ भने उनी २०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर–५ (२) बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनी २०७९ माघमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । प्रकाश र भानु दुबै देउवाका भतिजहरु हुन्। 

अनुसन्धान जारी

अख्तियारले तीनजनाविरुद्ध नै सम्पत्ति शुद्धिकरण र भ्रष्टाचारसम्बन्धि कसुरमा अनुसन्धान गरिरहेको बताइन्छ। प्रकाशविरुद्ध पूर्वमन्त्री समेत भइसकेकाले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण र गंगा र भानुविरुद्ध भने सम्पत्ति शुद्धिकरणको अनुसन्धान चलिरहेको अख्तियारले जनाएको छ । 

प्रकाश देउवाविरुद्धको अनुसन्धान कसरी ?

प्रकाश देउवा अहिले अमेरिकामा छन्। उपचारका लागि भन्दै अमेरिका पुगेका प्रकाश अहिलेसम्म नेपाल फर्किएका छैनन्। उनी प्रदेश सांसद समेत भएपनि लामो समय संसदमा अनुपस्थित रहँदै आएका छन्। धेरैले उनको सेवा सुविधा नै कटौति हुनुपर्ने माग गरिरहेको बेला प्रदेश संसद सचिवालयले यसबारे थप बुझ्ने काम भइरहेकोबाहेक जवाफ दिने गरेको देखिन्न। भने तलव रोक्का गर्ने प्रावधान नै नरहेको भन्ने गरेको छ। यता, अख्तियारले पनि प्रकाश अमेरिकामा भएकोबाहेक सूचना प्राप्त गर्न सकेको देखिन्न। उनीविरुद्ध अख्तियारले अनुसन्धानका निम्ति फारम भराउने गरि तयारी गरिरहेको बताइन्छ । 

भानु देउवा र गंगा दाहालविरुद्ध के हुँदैछ ?

भानु र गंगाबारे अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्राचार गरेको अख्तियारले जनाएको छ। एकहप्ताअघि मात्रै सम्पत्ति शुद्धिकरणको पत्र प्राप्त गरेको अख्तियारको दाबी छ। योसंगै अख्तियारले विभिन्न विभागमा उनीहरुको सम्पत्ति विवरण माग गर्दै पत्राचार समेत गरिसकेको बताइएको छ। सम्पत्ति विवरण संकलनपश्चात मात्रै उनीहरुलाई सम्पत्ति सम्बन्धि फारम भराउने र बयान लिने काम थाल्ने अख्तियारको जिकिर छ । यता, अख्तियारका अधिकारीहरुले उनीहरुको बैंक विवरण र कारोबारको विवरण एकीकृत गरिरहेको समेत बताइन्छ। 

केपी ओलीका स्वकियविरुद्ध पनि अनुसन्धान

अख्तियारले पूर्वप्रधानमन्त्री केपी ओलीका स्वकिय राजेश बज्राचार्यविरुद्ध अनुसन्धान गरिरहेको छ। गएको जेठ अन्तिम सातादेखि अनुसन्धान शुरु गरेको अख्तियारले के गरिरहेको छ भन्ने प्रगति विवरण सार्वजनिक रुपमा दिने गरेको छैन् । 

बज्राचार्यले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अनुसन्धान गरिरहेको अख्तियारले उनलाई फारम भराउनेदेखि बयान लिने काम समेत गरिसकेको बताइन्छ। बज्राचार्यले सम्पत्ति विवरण सम्बन्धी १३ पन्ने फारम भरेर अख्तियारमा बुझाइ सकेका छन् । बज्राचार्यविरुद्ध यति समूहको थामसेर्कु ट्रेकिङले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिजमा लैजादा अनियमितता गरेको आरोप छ। बज्राचार्यकी पत्नी रश्मि शाक्यले यति समूहबाट बालकोटस्थित रोज भिलेज हाउजिङभित्रको झण्डै चार आना जग्गामा बनेको घर घुस बापत लिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानको निष्कर्ष छ । यहि विवरण देखाउदै सीआइबीले नै अख्तियारलाई लेखि पठाएपछि अनुसन्धान अघि बढिरहेको छ । उसोतः सम्पत्ति विवरणमाथि अनुसन्धान गर्दा गैरकानुनी रूपमा आर्जन गरेको भेटिएमा आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने कानुनी व्यवस्था छ । अहिले आयोगले गरिरहेको अनुसन्धानको निष्कर्षपछि मात्रै अभियोजन हुने नहुने विषय टुंगो लाग्नेछ। 

अख्तियारमाथि भरोसा कि प्रश्न ?

अख्तियारले गरिरहेका अनुसन्धान र अभियोजन कति प्रतिशत अदालतबाट प्रमाणित हुन्छन्? पछिल्लो समय यो प्रश्न उठिरहेको छ। अख्तियारले अभियोजनलाई कर्मकाण्डी बनाउने गरेको आरोप समेत लाग्ने गरेको छ। यस्तोमा अख्तियारले अभियोजनका लागि समय लिएपनि परिपक्क अनुसन्धान गर्नुपर्ने र अभियोजनमा समेत विशेष ध्यान दिनुपर्ने बताइन्छ। तर, अख्तियारमाथि कार्यपालिकाको हस्तक्षेपका कारण पनि अनुसन्धान प्रभावकारी हुनेमा शंका भने देखिन्छ। तर, अख्तियारले आफ्नो शाख जोगाउने र गैरकानूनी सम्पत्ति आर्जन र भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य भूमिका खेल्नुपर्ने संवैधानिक व्यवस्थाको पालना कसरी गर्छ भन्ने प्रश्न र भरोसा कायमै देखिन्छ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update