काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु भएको छ । ५५ वटा ब्रान्ड सहभागी यो एक्स्पोमा ४० भन्दा बढी नयाँ मोडलका सवारीसाधन प्रदर्शन गरिएका छन् ।
अटोप्रेमीहरूका लागि नयाँ गाडी खरिद गर्ने र नयाँ अपडेट बुझ्ने अवसर एक्स्पोले जुराएको छ । काठमाडौंको भृकुटीमण्डप अहिले नयाँ मोडलका गाडी, मोटरसाइकल र अत्याधुनिक मोबिलिटी प्रविधिले भरिएको छ । र, यो माहोलको अवसर नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ ले जुटाएको हो । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन अर्थात् नाइमाले दोस्रोपटक आयोजना गरेको एक्स्पो मंगलबारदेखि सुरु भएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले पानसमा बत्ती बालेर एक्स्पोको औपचारिक शुभारम्भ गरे । यसपटकको एक्स्पोमा ५५ वटा ब्राण्ड सहभागी छन् । जसमा ४० भन्दा बढी नयाँ मोडलका सवारीसाधन सार्वजनिक तथा प्रदर्शन गरिँदैछन् ।
नयाँ गाडी वा बाइक किन्ने सोचमा रहेकाहरुलाई भृकुटीमण्डपमा जारी एक्स्पो उत्कृष्ट गन्तव्य हुन सक्छ । एक्स्पोमा चारपांग्रेतर्फ हुन्डाई, टाटा, टोयोटा, महिन्द्रा, किया, निसान, बीवाईडी, एमजी, सिट्रोन, ओमोडा एन्ड जेको, डेन्जा, जिकर, लीपमोटर, वुलिङ, ग्रेट वाल मोटर्सलगायतका ब्राण्ड सहभागी छन् ।
त्यसैगरी दुईपांग्रेतर्फ बजाज, होन्डा, टीभीएस, रोयल इन्फिल्ड, केटीएम, सुजुकी, एथर, याडिया, अल्ट्राभायोलेट, सीएफ मोटो, ट्रायम्फलगायतका ब्राण्डले आफ्ना नयाँ उत्पादन प्रदर्शनीमा राखेका छन् ।
कमर्सियल भेहिकलतर्फ पनि चेरी वान्डा, केरी, डोङफेङ, स्काइवर्थलगायतका ब्राण्डका गाडीहरु एक्स्पोमा देख्न सकिन्छ । एक्स्पोको अर्को आकर्षणमा रुपमा यहाँ रहेका स्टलहरु र छुट अफर रहेको छ । ग्राहकलाई आकर्षित गर्न कम्पनीहरूले आकर्षक तथा फरक शैलीका स्टल निर्माण गरेका छन् । विभिन्न ब्राण्डले विशेष छुट र अफरसमेत सार्वजनिक गरिरहेका छन् ।
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यका अनुसार नेपालको अटोमोबाइल क्षेत्र विस्तारै विद्युतीय सवारीतर्फ अघि बढिरहेको छ । विद्युतीय सवारीले हरित अर्थतन्त्र निर्माणमा योगदान पु¥याइरहेको उनको भनाइ छ । उनले नेपालमा अटो कम्पोनेन्ट उद्योगलाई प्रोत्साहन गर्न सके एसेम्बल प्लान्टको सम्भावना अझ बलियो हुने बताएकी छन् ।
एक्स्पोमा सवारीसाधनसँगै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको सहभागिता छ भने विभिन्न नलेज सिरिज पनि सञ्चालन भइरहेका छन् । नाइमा नेपाल मोबिलिटी एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।
