News 24 Television
माननीयको अभिब्यक्तिले सुरक्षा संगठनको बदनाम

काठमाडौं । मुलुकको शान्ति, सुरक्षा र कानुन कार्यान्वयनको मुख्य जिम्मेवारी बोकेको नेपाल प्रहरी अहिले दोहोरो दबाबमा परेको छ । एकातिर गत बर्षको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा संगठनले भोगेको भौतिक तथा मनोवैज्ञानिक क्षतिको असर अझै पूर्णरूपमा मेटिन सकेको छैन भने, अर्कोतिर राजनीतिक वृत्तबाटै संगठनको नेतृत्व र कार्यशैलीमाथि प्रश्न उठाउने क्रम तीव्र बनेको छ । 

राज्यकै प्रमुख निकायहरु कार्यपालिका र ब्यवस्थापिकाबाटै प्रहरी संगठनको बदनाम गर्ने कार्यले संगठनको मनोबल झनै गिराएको छ । सार्वजनिक पदमा बसेका व्यक्तिले उठाउने प्रश्नले सधैं सार्वजनिक चासो निम्त्याउँछ, विशेषगरी त्यो प्रश्न राज्यको कुनै संवेदनशील निकायविरुद्ध उठाइएको हुँदा गत बुधबार सार्वजनिक लेखा समितिको बैठकमा रास्वपाका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको सामग्री खरिद प्रक्रियामा प्रश्न उठाउँदै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई नै कठघरामा उभ्याए । 

जुत्ता, मोजा, पोशाकदेखि लाठी खरिदसम्ममा आर्थिक अनियमितता भएको आशय दिँदै उनले तत्काल निष्पक्ष छानबिनको माग गरे । आइजीपी कार्कीले तत्काल प्रतिवाद गरे । खरिद प्रक्रियामा कुनै अनियमितता नभएको दाबी गर्दै तथ्यहीन आरोप लगाएर कर्मचारीको मनोबल कमजोर नबनाउन आग्रह गरे । 

त्यसपछि सांसद सुनारकै आफ्नै कानुनी पृष्ठभूमिबारे सार्वजनिक बहस सुरु भयो — प्रश्न उठाउने व्यक्ति स्वयं कति चोखो छ ? आईजीपी कार्कीले सांसद सुनारविरुद्ध नै आएका उजुरीहरूको चाङ औंल्याए । सुनारविरुद्ध माननीयदेखि दयनीयसम्मका व्यक्तिहरूले विभिन्न प्रकृतिका उजुरी दिएको र, आरोपको पोको खोलिदिन सक्ने चेतावनी दिए । 

सर्वत्र आलोचित खगेन्द्र अझै ‘अराजक’

लेखा समितिमा आईजीपी कार्कीमाथि खगेन्द्र सुनारले उठाएको प्रश्नले मात्रै खगेन्द्र चर्चा र विवादमा आएका होइनन् । प्रहरी संगठन विरुद्ध पटक पटक सार्वजनिक उनको अभिब्यक्तिले सांसद सुनार आलोचित छन् । 

२०८३ वैशाख ७ गते सिन्धुली सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा निवासी २३ वर्षीय श्रीकृष्ण विक खुर्कोटस्थित प्रहरीको हिरासतमै मृत्यु भएको घटनामा जनप्रतिनिधिको हैसियतमा सिन्धुली पुगेका सुनाले एकतर्फी आरोप लगाउँदै सिन्धुलीका एसपीको कठालो नै समातेर घिसार्नुपर्ने अभिव्यक्ति दिएका थिए । 

सांसद हुनुपूर्व सुनारले एक वर्षअघि माइतीघरबाट समेत जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना डीएसपी विरुद्ध अर्मयादित अभिव्यक्ति दिएका थिए । त्यो बेला जहाँ पनि उनी हातमा नेल र निधारमा नवसेना लेखिएको फेटा बाँधेर सांकेतिक विरोधमा देखिन्थे । यो पटक संसदीय समितिमा आईजीपी कार्कीविरुद्ध पनि उही शैलीमा आक्रोश पोखेका थिए । 

सुनारविरुद्ध तीन मुद्दा अदालतमा विचाराधिन 

सांसद खगेन्द्र माथि अहिले पनि तीनवटा मुद्दा अदालतमै विचाराधीन छ । दैलेखको नारायण नगरपालिका–२ भैसेखोरका खगेन्द्र प्रतिनिधि सभाको चुनावमा भने बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । उनीमाथि सुर्खेत प्रहरीले २०८० को असारमा पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । 

त्यो बेला जिल्ला प्रशासन कार्यालय सुर्खेतले २० हजार रुपैयाँ धरौटी लिएर छाडेको थियो । त्यसको एक वर्षपछि पुनः २०८१ असारमै सुर्खेतकै अस्पतालका डाक्टरहरुमाथि अभद्र व्यवहार तथा तोडफोडको मुद्दा हाल सुर्खेत जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । २०८२ साउनमा काभ्रेकी एक महिलामाथि सामाजिक सञ्जाल फेसबुकमार्फत चरित्र हत्या गर्ने खालको पोष्ट गरेको आरोपमा उनीमाथि काभ्रे प्रहरीले साइबर अपराधमा मुद्दा चलाएको थियो । 

साउन ५ गते पक्राउ पुर्जी लिए पनि उनी पक्राउ भने परेनन् । पछि मुद्दा अदालत दर्ता भएपछि उनी काभ्रे जिल्ला अदालतमा हाजिर भएका थिए । काभ्रे अदालतले समेत सुनारलाई ५० हजार रुपैयाँ धरौटी बुझाएर मात्रै छाड्ने आदेश गरेका थिए । हालसम्म पनि मुद्दा टुंगो लागेको छैन । 

सुनारको प्रहरी नेतृत्वमाथि भएको व्यक्तिगत आक्षेप र अमर्यादित व्यवहार विवाद गृहमन्त्री हुँदै सभामुखसम्म पुगेको छ । आइजिपीसहित आठ एआइजी र एक डिआइजीले प्रहरी संगठनकै मनोबल खस्किएको भन्दै संसदीय छानबिनमा विधि र मर्यादा पालना गर्न आग्रह गरेका छन् । 

बेनामे उजुरीको भरमा संसदीय समितिमा बोलाएर संगठनकै मानमर्दन हुने गरी हुर्मत लिएको गुनासो समेत गरेका छन् । प्रहरी अधिकारी मात्र होइन, गृहमन्त्री सुधन गुरुङसमेत सुनारको ब्यवहारले रुष्ट छन् । 

प्रहरी संगठनबाटै ‘माननीय’विरुद्ध खेद ब्यक्त 

प्रतिनिधिसभा सदस्य सुनारको अराजक अभिब्यक्तिको सिंगो प्रहरी संगठनले नै खेद प्रकट गरेको छ । नेपाल प्रहरी पूर्वप्रहरी संगठन प्रमुख मञ्चले विज्ञप्ति जारी गरेर सुरक्षा निकाय र यसको नेतृत्वमाथि भएका व्यक्तिलक्षित टीकाटिप्पणीप्रति खेद प्रकट गरेको छ । 

भने पूर्वप्रहरी कर्मचारी परिषद्, पूर्वसशस्त्र प्रहरी संघ र सुरक्षा तथा न्याय अध्ययन केन्द्रले संयुक्त विज्ञप्ति जारी गरेर यस्ता गतिविधिले सुरक्षाकर्मीको मनोबल खस्कने र राष्ट्रिय सुरक्षामै असर पर्ने स्पष्ट गरेका छन् । साथै ती संस्थाहरूले संसदीय समितिमा बोलाउँदा पदीय गरिमा, सम्मान र व्यावसायिक मर्यादा कायम राख्न सुझाएका छन् । 

अझै पुरिएको छैन भदौ २४ को घाउ 

नेपाल प्रहरीका लागि २०८२ भदौ २३ र २४ गते घटनाको घाउ अझै पुरिएको छैन । त्यो घटनाले संगठनको भौतिक संरचना, हतियार, कार्यालय र प्रहरी कर्मचारीको सुरक्षामाथि नै ठूलो चुनौती खडा गरेको छ । 

उक्त आन्दोलनका क्रममा काठमाडौँ उपत्यकाका मात्र १ सय ५३ प्रहरी कार्यालयमा आगजनी, १७ वटा प्रहरी वृत्त क्षतिग्रस्त,१ हजार १ सय हतियार लुटिपाट,३ जना प्रहरीको मृत्यु र प्रहरी कर्मचारीले ज्यान जोगाउन बर्दी फुकालेर भाग्नुपर्ने अवस्था आएको थियो । 

सुरक्षा संगठन र कर्मचारीको मनोबल बढाउनुपर्नेमा सत्तारुढ दलबाट नै यस्ता खाले अभिव्यक्तिले संगठनको मनोबल गिर्दो अवस्थामा पुगेको पूर्व प्रहरी अधिकारीको भनाई छ ।

सांसदको काम प्रश्न उठाउनु नै हो, तर प्रश्न उठाउने नाममा प्रमाणविनाका आरोप लगाउनु र आरोप प्रमाणित नहुँदै त्यसलाई सत्यका रूपमा प्रस्तुत गर्नु जिम्मेवार राजनीतिक अभ्यास होइन । खगेन्द्र सुनार हिजो आन्दोलनकारी भए पनि आज जनताका प्रतिनिधि हुन् ।

त्यसैले विना आधार राज्यको जिम्मावार निकायहरुको बदनाम गर्दा सुरक्षा संगठनको मात्र होइन, स्वयम् माननीयको ओज घटाउँछ । प्रहरीलाई प्रश्न गरौँ, तर प्रमाणसहित ।

प्रहरीलाई जवाफदेही बनाऔँ, तर संस्थागत रूपमा । प्रहरी कमजोर हुँदा कमजोर हुने प्रहरी प्रमुख मात्र होइन, सिंगो राज्य हो । प्रहरी संगठनका भित्रका कमजोरीहरु सुधार हुनु पर्छ नै, सांसद सुनारको आफू पनि सुध्रिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update