दोलखा । प्राचीन तथा ऐतिहासिक नगरी दोलखामा धार्मिक सहिष्णुता र सांस्कृतिक सद्भावको प्रतीक मानिने परम्परागत हिले जात्रा अर्थात् गुउँला पर्व हर्षोल्लासका साथ मनाइँदैछ । श्रावण शुक्ल प्रतिपदा अर्थात् घण्टाकर्ण (गाठामा) को तेस्रो दिनदेखि सुरु भएको यो ऐतिहासिक पर्वका कारण यतिबेला दोलखा बजार २४ सै घण्टा सांस्कृतिक रौनकमा झुमिरहेको छ ।
बिहानैदेखि गुञ्जने परम्परागत बाजा, धार्मिक परिक्रमा र दिउँसोदेखि रातिसम्म देखाइने फरक स्वरूपका लाखे नाचले प्राचीन नगरी दोलखा यतिबेला गुञ्जायमान बनेको छ । घण्टाकर्ण अर्थात् स्थानीय भाषामा ‘गाठामा’को तेस्रो दिन, श्रावण शुक्ल प्रतिपदादेखि दोलखामा गुउँला जात्राको औपचारिक सुरुवात हुन्छ ।
माथिल्लो र तल्लो टोलका बेग्लाबेग्लै डापा खलक परम्परागत बाजागाजासहित बिहानै सांस्कृतिक परिक्रमामा निस्कन्छन् । स्थानीय भाषामा देउ उय भनिने यो परिक्रमा कागे अष्टमीका दिन समापन हुन्छ ।
पूजा सामग्री बोकेका ज्येष्ठ नागरिकसहितको टोली स्वयंभू चैत्य र कोर्छे टोलबाट सुरु भई भीमेश्वर, कालीमन्दिर, त्रिपुरा सुन्दरी, राजकुलेश्वर तलेजु, नक्छे चैत्य, गणेश मन्दिर र मच्चिछन्द्रनाथ मन्दिर हुँदै पुनः स्वयंभू चैत्य पुगेर टुंगिन्छ । जात्रा मनाउँदा हिन्दू र बौद्ध दुवै धार्मिकस्थलको समान रूपमा परिक्रमा गरिन्छ ।
दिउँसोदेखि दोलखा बजारमा लाखे नाचको रौनक सुरु हुन्छ । एउटै जात्रामा चार फरक स्वरूपका लाखे प्रदर्शन हुने भएकाले दोलखाको लाखे देशभरमै विशेष मानिन्छ ।
दिउँसो ३ देखि ५ बजेसम्म ‘जोङ डाकस’ निकालिन्छ । यसमा हात दुई जना दाउरेले समातेर दर्शकलाई लखेट्दै मनोरञ्जन गराउँछन् । आसुरी शक्तिमाथि विजयको कथा भन्ने नेपाल डाकस भने राति मात्र नाचिन्छ । वर्षमा एक दिन रक्षाबन्धनका दिन निकालिने ‘ड्वाकु डाकस’ ठूलो लाखे हो । फरक मुखुण्डो लगाइने यसलाई महाकालीका रूपमा पूजा गरिन्छ ।
गाईजात्रादेखि पञ्चमीसम्म ‘माझीपा डाकस’ पनि प्रदर्शन गरिन्छ । डोरीले बाँधेर लाखेलाई नचाउने र माझीहरूले नियन्त्रण गर्न खोजेको लोककथाको अभिनय यसमा देखाइन्छ । पुस्तौँदेखि चल्दै आएको यस अमूर्त कला र संस्कृति संरक्षणमा स्थानीय युवाको सक्रियता उदाहरणीय छ ।
