काठमाडौं । गोदावरी नगरपालिकामा नवनिर्मित ‘गोदावरी महिला उद्यम विकास प्रतिष्ठान’को आइतबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ ।
महिलाहरूलाई सीप विकास, उद्यमशीलता र आयआर्जनका अवसरहरूसँग जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको हो । गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख गजेन्द्र महर्जन प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, महिला उद्यमी, सरोकारवाला संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो । समारोहमा स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका विभिन्न सामग्रीको प्रदर्शनीसमेत गरिएको थियो ।
नवनिर्मित प्रतिष्ठानलाई महिला उद्यमीहरूका लागि तालिम, उत्पादन, प्रदर्शनी तथा बजारीकरणको एकीकृत केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
गोदावरी नगरपालिकाले महिलाहरूलाई शिक्षा, सीप र उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउन अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०८१ समेत जारी गरी अभियान सञ्चालन गरिरहेको छ । हालसम्म ४७ जना महिलाले प्लस टु उत्तीर्ण गरिसकेका छन् भने ११ जना स्नातक तहमा अध्ययनरत छन् ।

यस्तै, १४० भन्दा बढी महिला तह १ र २ मा अध्ययन गरिरहेका छन् । शिक्षाका साथै महिलाहरूलाई आयआर्जनमा जोड्न नगरपालिकाले ढाका बुनाई, साबुन तथा सरसफाइ सामग्री निर्माण, सिलाइ–कटाइ, हस्तकला, अचार, टपरी र स्यानिटरी प्याड उत्पादनजस्ता विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ ।
महिलाहरूलाई केवल तालिममा मात्र सीमित नराखी शिक्षित, सीपयुक्त, स्वरोजगार र पूर्ण रूपमा आत्मनिर्भर बनाउनु यस अभियानको लक्ष्य रहेको छ ।
