News 24 Television
किमदेखि एलिनसम्म : विदेशीको भिसा, विवाह र गतिविधिको डरलाग्दो रिपोर्ट

काठमाडौं । विदेशी नागरिक नेपाल घुम्न, व्यापार गर्न वा अध्ययनका लागि आउने गरेका छन् । तर अध्यागमन र सुरक्षा निकायको अनुसन्धानले यसरी आउने केही विवाह, भाषा केन्द्र र एनजीओको आवरणमा धार्मिक प्रचारदेखि शंकास्पद गतिविधिसम्म गरेको देखाएको छ । पिटर क्वाङ सियोङ किमदेखि एलिन बिट ब्रोगस्ट्रोमसम्मका घटनाले राष्ट्रिय सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

विदेशी नागरिक नेपाल किन आउँछन् ? यसको सामान्य जवाफ हा घुम्न, व्यापार गर्न, अध्ययन गर्न, व्यवसाय गर्न वा नेपालमा केही समय बस्न । तर अध्यागमन विभाग र सुरक्षा निकायको अनुसन्धानले केही विदेशीको नेपाल बसाइँको उद्देश्य सामान्यभन्दा निकै फरक र गम्भीर हुनसक्ने देखाएको छ । यसको एउटा उद्धाहरण हुन्, दक्षिण कोरियाली मूलका अमेरिकी नागरिक पिटर क्वाङ सियोङ किम । उनी विगत एक महिनादेखि अध्यागमन विभागको हिरासतमा थिए । तर सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमाथि फैसला गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको छ । 

किम सन् २०१३ देखि नेपाल आउजाउ गर्दै आएका थिए । नेपाली महिला निलम बर्देवासँग विवाह गरेपछि उनले वैवाहिक भिसासमेत लिएका थिए । तर अध्यागमन विभागले उनलाई साउनमा एक वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी देश निकाला गरेको थियो । 

त्यसविरुद्ध उनकी श्रीमतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । किममाथिको अनुसन्धानमा भने उनको गतिविधि धार्मिक प्रचार, भिसाको दुरुपयोग र राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा केन्द्रित देखिन्छ ।  अनुसन्धान अनुसार किमले दोलखाको चरिकोटमा भाषा केन्द्र सञ्चालन गरेका थिए । 

सन् २०१८ मा भीमेश्वर बहिरा आधारभूत विद्यालयमा क्रिश्चियन धर्म प्रचार गरेको र तत्कालीन प्रधानाध्यापकलाई धर्म परिवर्तन गराएको आरोपसमेत अनुसन्धानमा उल्लेख छ । काभ्रेको नमोबुद्धमा रहेको द लाइट एन्ड सल्ट स्कुलमार्फत् विपन्न बालबालिकालाई लक्षित गरेर धर्म प्रचार गरिएको दाबी पनि गरिएको छ । 

त्यस्तै दोलखा, सिन्धुली र काभ्रेमा धार्मिक गतिविधि विस्तार गर्ने, स्थानीय अवस्था र भविष्यमा लगानी गर्नुपर्ने क्षेत्रबारे रिपोर्ट तयार पारेर विदेशस्थित संस्थामा पठाउने गरेको अनुसन्धानमा भेटिएको बताइएको छ । यसका लागि उनले अमेरिकामा रहेका संस्थाहरुबाट आर्थिक सहयोग पाउने गरेका थिए । 

मिसनरी कार्यलाई निरन्तरता दिनकै लागि रणनीतिक रूपमा उनले व्यावसायिक भिसालाई विवाह भिसामा परिणत गर्ने योजना बनाएको देखिन्छ । उनको वैवाहिक सम्बन्ध नेपालमा दीर्घकालीन बसोवास गर्ने र आफ्नो कानुनी हैसियत जोगाउन मात्र प्रयोग भएको देखिन्छ । 

अनुसन्धानमा सन् २०२२ को नेपाल मिसन रिपोर्ट पनि फेला परेको बताइएको छ । बिजनेस भिसामा बस्दा उनले गरेको गतिविधि थाहा पाएर डिपोर्ट हुनसक्ने जोखिमका कारण वैवाहिक भिसा लिने योजना बनाइएको २०२२ नेपाल मिसन रिपोर्टमा उल्लेख भएको अध्यागमनको दाबी छ । किम ७२ वर्षका र उनकी नेपाली श्रीमती ३० वर्षकी रहेको तथा किमको अमेरिकामा समेत परिवार र सन्तान रहेको अनुसन्धानमा उल्लेख छ । 

किमजस्तै अरु को को ? 

तर यस्तो विषय किममा मात्रै सीमित छैन । स्वीडेनी नागरिक एलिन बिट ब्रोगस्ट्रोमको विषय पनि अनुसन्धानमा आएको छ । ५१ वर्षीया एलिनले २४ वर्षीय वीरगञ्ज घर भएका अनिकेतकुमार डंगोलसँग २०७९ भदौ ६ गते काठमाडौँ जिल्ल्ला अदालतबाट विवाह गरी त्यसैको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साबाट नेपाली अंगीकृत नागरिकता लिएको र त्यसपछि सम्बन्धविच्छेद गरेको अनुसन्धानमा देखिएको छ । 

अनुसन्धान अनुसार दुवैबीच खासै चिनजान थिएन र विवाहपछि पनि श्रीमान श्रीमतीको रूपमा बसेको पनि देखिएन । आर्थिक प्रलोभनमा कागजी विवाह भएको आशंका गरिएको छ । 

एलिनले पछि अर्का विदेशी नागरिकसँग विवाह गरिन् र उनलाई समेत नेपाल ल्याएको अनुसन्धानमा भेटिएको छ । उनले स्वीडेनी नागरिकता त्यागेको दाबी गरेपनि त्यसको प्रमाण पेस नगरेको बताइन्छ । नेपाली राहदानी प्रयोग गरेर भारत १६ पटक गएको र त्यहाँबाट स्वीडिस राहदानीमार्फत तेस्रो मुलुक गएको विवरणसमेत अनुसन्धानमा आएको छ । 

एलिनका विदेशी श्रीमानले गोफिका इन्टरनेसनल कार्गो प्रालि नामको कम्पनी २०८० जेठ १४ गते उद्योग विभागमा दर्ता कम्पनी खोलेर बिजनेस भिसा लिएको तर कारोबार नगरी कम्पनी बन्द गरेको विवरण पनि अनुसन्धानमा छ । नेपाली नागरिकता लिएकी एलिनले नेपाली युवासँग सम्बन्ध बिच्छेद गरी पुन आफ्नै श्रीमानसँग विवाह गरेको पाइएको छ । यसै विवाहको आधारमा उनले श्रीमान कार्ललाई समेत नेपाली अंगिकृत नागरिकता समेत दिलाउन सफल भएको पाइन्छ । एलिनसँग नेपालमा विहे गर्नु अघि कार्ल ११ पटक पर्यटक र ५ पटक व्यवसायिक भिसामा नेपाल आइसकेका थिए । 

एलिनका श्रीमानले नेपाली अंगीकृत नागरिकता लिँदासम्मको सबै विवरणहरू शंकास्पद रहेको देखिन्छ । यसबारे राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान गरेर रिपोर्ट पनि दिएको छ । तर कानुनी रूपमा उनीहरूले सबै प्रक्रिया पूरा गरेर नेपाली नागरिकता समेत लिएकाले कारबाही प्रक्रिया भने अघि बढाउन सकेको छैनन । 

अर्को उदाहरण अमेरिकी नागरिक अमान्ड मैडा समर्स हुन् । उनले ९२ वर्षीय हर्कबहादुर घर्तीसँग विवाह गरेर वैवाहिक भिसामा नेपाल बसेकी थिइन् । उनी १५ वर्षजति नेपालमा बसेकी थिइन् । 

विवाहपछि अमान्ड ललितपुर महानगरपालिका–२५, सैंबुमा बसिन् र सन्ध्या कर्णको नाममा दर्ता भएको स्वालम्बन नामक एनजीओमा आबद्ध भइन् । अनुसन्धानका क्रममा उनले पाकिस्तानी नागरिक लर्ड किङ भिन्सेन्टलाई नेपालमा सेल्टर दिएको खुलेको बताइएको छ । भिन्सेन्ट २०२५ जनवरी २८ मा नेपाल आएका थिए र उनको पर्यटक भिसा मे १२ सम्म मात्रै थियो । तर भिसा सकिएको करिब एक महिनासम्म अमान्डले उनलाई आश्रय दिएको अनुसन्धानमा भेटियो ।

गुप्तचर सूचनाका आधारमा २०८३ जेठ २९ गते सैंबुबाट उनीहरू पक्राउ परे र पछि डिपोर्ट गरिए । अध्यागमन विभागका अनुसार सन् २०२५ मा मात्रै ५२३ विदेशी नागरिक डिपोर्ट भएका छन् । 

तीमध्ये चीनका १२०, बंगलादेशका ७५, अमेरिकाका ३५, बेलायतका २२, पाकिस्तानका १८ र अन्य देशका २५३ नागरिक छन् । ४५९ जना ओभरस्टे र ६४ जना शंकास्पद गतिविधिका कारण डिपोर्ट गरिएको विभागको तथ्यांक छ । 

यसरी डिपोर्ट गरिएकाहरु मध्यै धेरैले पहिला अध्ययन भिसा, व्यवसायिक भिसाको बहानामा लामो समय नेपालमा बसेर मिसनरीको रूपमा काम गर्ने प्रवृत्ति देखिएको छ । काठमाडौंलाई नेस्ट अफ स्पाई भनिन्छ । विभिन्न देशका गुप्तचर एजेन्सीहरूको ट्रान्जिट र सूचना संकलन केन्द्रका रूपमा समेत काठमाडौंलाई प्रयोग गर्ने गरिएको सुरक्षा विश्लेषण छ । 

नेपालमा हुने गतिविधिमा चिनियाँ चासो वा अमेरिकी रणनीतिक उद्देश्यका लागि सूचना संकलनका काम गरेको हुनसक्ने सुरक्षा संयन्त्रको विश्लेषण छ । त्यसैले पर्यटन, व्यवसाय, भाषा केन्द्र, एनजीओ वा विवाहको आवरणमा लामो समय बस्ने र त्यस क्रममा धार्मिक प्रचार, शंकास्पद गतिविधि वा राष्ट्रिय सुरक्षामा असर पार्ने काम हुन सक्ने देखिएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update