News 24 Television
शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरले २०० मिटर दौडमा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका छन्। अमेरिकाको लस एन्जलसमा आयोजित वर्ल्ड एथलेटिक्स स्वीकृत प्रतियोगितामा उनले २१.८७ सेकेन्डमा २०० मिटर दूरी पूरा गर्दै सन् १९९५ देखिको record भङ्ग गरेका हुन्। त्यसपछि अगस्ट ९, २०२६ मा लण्डनमा सम्पन्न अर्को प्रतियोगितामा आफ्नै रेकर्ड सुधार्दै उनले २१.६६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे। यसअघि उनले ६० मिटर दौडमा पनि ७.०२ सेकेन्डको राष्ट्रिय रेकर्ड बनाइसकेका छन्।

सन् २०२५ मा दक्षिण कोरियामा भएको एसियाली एथलेटिक्स प्रतियोगिताका क्रममा ह्यामस्ट्रिङ चोटका कारण प्रतिस्पर्धाबाट बाहिरिनुपरे पनि आयुषले कठिन पुनरागमन गरेका हुन्। सीमित स्रोतसाधन, चोटपटक र संस्थागत चुनौतीहरूका बाबजुद निरन्तरको मेहनत र अनुशासनका कारण उनले एक वर्षपछि यो ऐतिहासिक सफलता हासिल गर्न सफल भए।

नेपाली खेलकुद क्षेत्रमा अवसर र पूर्वाधारको अभाव कायमै रहँदा पनि आयुषले स्वयं पहल गरेर अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएका छन्। हाल अमेरिकामा प्रशिक्षणरत उनले आफ्नो खेल जीवन र दैनिक व्यवस्थापन आफैँ गर्दै नेपाली एथलेटिक्सलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गरिरहेका छन्।

यस सफलतामा शिवम् सिमेन्टको महत्त्वपूर्ण भूमिका रहेको छ। सन् २०२३ देखि आयुषको खेल यात्रामा सहयात्रा गर्दै आएको शिवम् सिमेन्टले उनलाई हवाई टिकट, पोशाकलगायत आवश्यक आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको छ।

कीर्तिमान कायम गरेपछि आयुषले ३० वर्षसम्म रेकर्ड कायम रहनु नेपाली खेलाडीले अवसर नपाउनुको परिणाम भएको बताएका छन्। नयाँ खेलाडीहरूलाई प्रोत्साहन गर्न उनले 'स्प्रिन्ट प्रोजेक्ट' नामक निजी योजना ल्याउने तयारी गरिरहेका छन् भने शिवम् सिमेन्टले पनि आगामी दिनमा नेपाली खेलकुद र अन्य प्रतिभावान खेलाडीहरूलाई सहयोग निरन्तर राख्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update