News 24 Television
दीपंकर बुद्धदेखि शुरु भएको पञ्चदान, दान पारमिताको सम्बन्ध

काठमाडौं । काठमाडौं उपत्यकाका नेवार बौद्ध समुदायले श्रावण शुक्ल अष्टमीका दिन पञ्चदान पर्व मनाएका छन् । दान पारमितासँग जोडिएको यस पर्वमा चामल, गहुँ, नुन, तोरी र फल संघलाई दान गर्ने परम्परा छ । पञ्चदानले करुणा, सेवा र सामुदायिक एकताको सन्देश दिन्छ ।

दानं विभुषणं लोके, दानं दुर्गति निवारणं 
दानं सग्गस्स सोपानं, दानं शान्तिकर शुभ 

अर्थात्, यो लोकमा दानभन्दा उत्तम आभूषण अरू छैन । दानले दुर्गति निवारण गर्छ, स्वर्ग जाने सिँढी बन्छ र शान्तिको कारक पनि हो । यही भावसँग जोडिएको बौद्ध पर्व हो पञ्चदान । हरेक वर्ष श्रावण शुक्ल अष्टमीका दिन नेवार बौद्ध समुदायले पञ्चदान पर्व मनाउँछन् । बौद्ध धर्ममा दश पारमितामध्ये पहिलो हो दान पारमिता । अर्थात् यसको मतदव लोभ र अहंकार त्याग्दै अरूको हितमा आफ्नो वस्तु, समय, ज्ञान वा सेवा अर्पण गर्नु । यसै अनुसार पञ्चदान पर्व ललितपुरका नेवार समुदायले बिहिबार मनाएका छन् ।

पञ्चदान भनेको पाँचवटा वस्तु दान गर्नु हो । परम्पराअनुसार चामल, गहुँ, नुन, तोरी र फलजस्ता वस्तु बज्रयान परम्पराका प्रव्रजित भइसकेका व्यक्ति अर्थात् संघलाई दान गरिन्छ । पञ्चदान वस्तु बाँड्ने पर्व मात्रै नभई यसमा करुणा, त्याग, सेवा र सामुदायिक एकताको दर्शन जोडिएको छ । अन्न, वस्त्र, धन, रक्त वा अंगदानदेखि शिक्षा, ज्ञान र विद्यादानसम्म दानको परम्परा छ । बौद्ध दृष्टिले भने ज्ञानदानलाई सर्वोत्तम दान मानिएको छ । पञ्चदानको ऐतिहासिक सम्बन्ध काठमाडौं उपत्यकाको प्राचीन बौद्ध संस्कृतिसँग छ । परम्परागत मान्यताअनुसार २८ बुद्धमध्ये प्रथम मानिने दीपंकर बुद्धको समयदेखि नै पञ्चदानको प्रचलन सुरु भएको विश्वास गरिन्छ । 

पञ्चदान पर्व गुंला महिनामा, विशेषगरी वर्षायाममा मनाइन्छ । त्यसैले पञ्चदान गुंला धर्मकै महत्वपूर्ण पक्षमध्ये एक हो । काठमाडौँ उपत्यका जस्तै दोलखाका बौद्धमार्गी नेवार समूदायले पनि पञ्चदानलाई विशेषरुपमा मनाउँदै आएका छन् । पञ्चदानको उद्देश्य दीन–दुःखीलाई सहयोग गर्नु, संघलाई समर्थन गर्नु र मानिसलाई असल आचरणतर्फ प्रेरित गर्नु रहेको  छ । 

त्यसैले पञ्चदानलाई दान कमाउने माध्यम मात्रै मानिएको छैन । पञ्चदानसँगै आफ्नो अहंकार घटाउने, सेवा भावना बढाउने र समाजमा समानता तथा सहअस्तित्वको भावना बलियो बनाउने अभ्यास पनि सदियौँदेखि हुँदै आएको छ । त्यसैले पाँच वस्तुको दानबाट सुरु हुने यो परम्पराले अन्ततः एउटै सन्देश दिन्छ, त्यो हो अरूका लागि दिनु नै धर्म हो र निःस्वार्थ दान नै मानवताको सुन्दर आभूषण हो । 

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update