रुपन्देही । रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग सञ्चालनका लागि करिब ४ करोड रुपैयाँ लगानी गरेर निर्माण गरिएको भौतिक संरचना अहिले भत्काउन थालिएको छ । सेज छाडेको एक वर्षपछि पंचकन्या एस.एस. एक्स्पोर्ट प्रालिले आफ्नै लगानीमा निर्माण गरेको उद्योगको संरचना भत्काउन थालेको हो । संरचना अन्य उद्योगीलाई बिक्री गरेर लगानी जोगाउन खोजेपनि सेजको कानुनी तथा प्रक्रियागत व्यवस्थाका कारण सम्भव नभएपछि उद्योग भत्काउनुपर्ने अवस्था आएको हो ।
पञ्चकन्या समूहले २०७५ साल साउनमा भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा चारवटा प्लट भाडामा लिएको थियो । २०७६ असोजमा उद्योग सेड, कम्पाउण्ड पर्खाल, सुरक्षा गार्ड भवन र शौचालयलगायत संरचना निर्माण गरी करिब ४ करोड रुपैयाँ लगानी गरिएको भएको थियो । २०७७ चैतदेखि दैनिक ४० टन उत्पादन क्षमतासहित व्यावसायिक उत्पादन थालेको उद्योगले भारत निर्यातसमेत सुरु गरेको थियो । दैनिक कारोबार १२ लाख रुपैयाँसम्म पुगेको र वार्षिक कारोबार १५ करोड रुपैयाँ पु¥याउने लक्ष्य थियो ।
सेज व्यवस्थापनबाट अपेक्षित सहजीकरण नपाएको भन्दै २०७९ फागुनमा दुईवटा प्लटको भाडा सम्झौता अन्त्य गरिएको थियो । २०८० असोजमा भारतले स्टिलजन्य वस्तुको आयातमा नयाँ नियम लागू गरेपछि निर्यात बन्द भयो । निर्यात नभएको भन्दै सेज प्राधिकरणले आन्तरिक बजारमा समेत बिक्री रोक लगाएपछि उद्योगले करिब ७५ प्रतिशत कर्मचारी कटौती गर्नुप¥यो ।
निर्यात खुलाउन प्रयास गरे पनि सम्भव नभएपछि उद्योग संकटमा प¥यो र अन्ततः २०८२ भदौमा सेजबाट बाहिरियो । सेज छाडेपछि आफूले निर्माण गरेका संरचना नयाँ उद्योगीलाई बिक्री गर्न पंचकन्याले लगानीकर्ताको विवरणसहित सेज व्यवस्थापनमा निवेदन दियो । प्रस्तावमा कारबाही नभएपछि संरचना व्यवस्थापनका लागि थप एक वर्ष समय माग गरियो । त्यसमा पनि जवाफ नआएपछि उद्योगले आफ्नै संरचना भत्काउन थालेको छ ।
पंचकन्याले आफ्नै लगानीमा बनाएका संरचना बिक्री गरेर लगानीको केही हिस्सा जोगाउन पाउनुपर्ने माग गरेको छ । यथास्थितिमा बिक्री गर्दा ४ करोड लागतको संरचना करिब ३ करोड रुपैयाँमा बिक्री हुने र १ करोड घाटा हुने अनुमान छ । तर भत्काएर बिक्री गर्दा मूल्य करिब २० लाख रुपैयाँमा सीमित हुने र कुल नोक्सानी ३ करोड ८० लाख रुपैयाँ पुग्ने उद्योगको भनाइ छ ।
सेज ऐनअनुसार संरचना भत्काएपछि मात्रै प्लट अन्य उद्योगलाई दिनुपर्ने भएकाले संरचना बिक्री गर्न नसकिएको उद्योगीको गुनासो छ । यही कारण शुक्रबार केही संरचनामा डोजर चलाइएको हो ।
निर्यात प्रवद्र्धन र औद्योगिक लगानी आकर्षित गर्ने उद्देश्यको सेजमा उद्योगीले लगानी गरेका संरचना प्रयोगविहीन हुँदै भत्काएर न्यून मूल्यमा बिक्री गर्नुपर्ने अवस्थाले यसको प्रभावकारितामाथि प्रश्न उठाएको छ । पंचकन्याले पुराना उद्योगका संरचना नयाँ लगानीकर्तालाई हस्तान्तरण वा बिक्री गर्न सकिने गरी ऐन संशोधन गर्न माग गरेको छ ।
