News 24 Television
अस्ताममा बालेनसँग गाउँको ३ माग, पानी र बाटो मुख्य चासो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अप्रत्याशित भ्रमणपछि कास्कीको अस्ताम गाउँबासीले विकासको माग राखेका छन् । स्थानीयले प्रधानमन्त्रीसमक्ष खानेपानी, सिंचाइ र सडकको समस्या तत्काल समाधान गर्न माग गर्दै बढ्दो अपराध, महिला तथा बालिका हिंसा नियन्त्रण र दण्डहीनताको अन्त्यका लागि कडा कानुन कार्यान्वयन गर्न आग्रह गरेका छन् । 

पोखराको कोलाहलबाट केही पर, हिमश्रृंखलाले घेरिएको कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, मा पर्ने अस्ताम गाउँ शुक्रवारदेखि एकाएक चर्चामा आएको छ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अप्रत्याशित अस्ताम भ्रमणका कारण यो गाउँ अहिले चर्चामा छ । शुक्रवार बिहानैदेखि गाउँको उकालो बाटोमा सुरक्षाकर्मीको बाक्लो आवागमन देखिएपछि मात्रै स्थानीयले प्रधानमन्त्री गाउँ आउँदै गरेको थाहा पाएका थिए । आफ्नै गाउँको आँगनमा देशका कार्यकारी प्रमुखलाई देख्न र वर्षौंदेखिका समस्या सुनाउन स्थानीय उत्साहित देखिए । 

प्रधानमन्त्री अन्नपूर्ण इको भिलेजमा बस्ने खबर पाएपछि स्थानीयले विकासको नयाँ आशा पनि देखेका छन् । स्थानीय ज्ञानु अधिकारीको चाहना भने विकास निर्माणमा मात्र सीमित छैन । उनी नयाँ राजनीतिक दलले राम्रो काम गर्नुपर्ने र अपराधीलाई कडा कारबाही हुनुपर्ने बताउँछिन् ।

अस्तामको सबैभन्दा ठूलो समस्या खानेपानी र सिंचाइ हो । अग्लो डाँडामा रहेको गाउँका अधिकांश बासिन्दा किसान छन् । तर पानीको अभावले उनीहरुको खेतीपाती प्रभावित छ । स्थानीय अगुवा एवं प्राध्यापक नन्दलाल अधिकारीका अनुसार किसानको मेहनत र पसिना पानी अभावकै कारण खेर गइरहेको छ ।

पानीको व्यवस्थापन हुन सके पोखराको नजिकै रहेको अस्तामका किसानले तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सक्ने उनको भनाइ छ । 

यो गाउँको अर्को ठूलो समस्या हो सडक । पोखराबाट छोटो दूरीमै रहे पनि अस्ताम पुग्ने मुख्य सडक कच्ची र अप्ठ्यारो छ । त्यसैले रामप्रसाद अधिकारी र शोभाकर अधिकारीले प्रधानमन्त्रीसमक्ष सडक र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर समाधान गर्न आग्रह गरेका छन् । 

खानेपानी, सिचाई र सडकको समस्या रहेपन अस्ताम गाउँ प्रकृतिको उपहारको रुपमा रहेको छ । यहाँबाट माछापुच्छ्रे हिमाल अत्यन्त नजिक र स्पष्ट देखिन्छ । अन्नपूर्ण, मनास्लु र धौलागिरी हिमश्रृंखलालाई समेत एउटै स्थानबाट ३६० डिग्रीमा अवलोकन गर्न सकिन्छ । 

प्राध्यापक अधिकारीका अनुसार पोखरामा गर्मी हुँदा पनि अस्ताममा वर्षैभरि शीतल हावापानी हुन्छ । त्यसैले योग, ध्यान र प्रकृतिको आनन्द लिन चाहने आन्तरिक तथा विदेशी पर्यटकका लागि यो गाउँ उत्कृष्ट गन्तव्य बन्न सक्छ । प्राकृतिक ओडार र गुफाको संरक्षण गर्दै उच्च पर्वतीय खेलकुदको पूर्वाधार निर्माण गर्न सके अस्तामले स्थानीय मात्रै होइन, देशकै अर्थतन्त्रमा योगदान पु¥याउन सक्ने स्थानीयको विश्वास छ । 

प्रधानमन्त्री अस्ताम आउँदा स्थानीयले न्याय र सुरक्षाका विषयमा पनि प्रश्न गरेका छन् । स्थानीय ज्ञानु अधिकारीले बढ्दो अपराध तथा महिला र बालिकामाथिको हिंसाप्रति आक्रोश व्यक्त गर्दै कडा कानुन कार्यान्वयनको माग गरिन् । 

प्राकृतिक रूपमा सम्पन्न तर पूर्वाधारमा पछाडि परेको अस्ताममा खानेपानी, सिचाई र सडक सुविधा थपिनेमा अस्तामबासीले प्रधानमन्त्री बालेनसँग आशा राखेका छन् । अस्तामको यो चासो सिंहदरबारको नीति र कार्यक्रममा पर्छ कि पर्दैन ? त्यसको जवाफ भने प्रधानमन्त्री बालेनको आगामी कदमले दिनेछ । 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update