काठमाडौं । सरकारी स्वामित्वमा रहेर पूर्णरुपमा बन्द भएको हेटौंडा कपडा उद्योग ब्यूँताउन बर्तमान सरकारले बल गरिरहेको छ । विगत २६ वर्षदेखि बन्द भएको उद्योग सञ्चालनमा ल्याउन अहिले कपडाको परिक्षण उत्पादन भइरहेको छ । नेपाली सेनाले बिग्रीएर थन्किएका मेसिनहरुको मर्मत गर्दै परिक्षण उत्पादन थालेको छ ।
विगत २६ वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगका तानहरू फेरि खटखट आवाज निकाल्दै कपडा बुन्न थालेका छन् । वर्षौँदेखि खिया लागेर कुरूप बनेका मेसिनहरूमा अहिले रंगीचंगी मसिना धागो दौडिन थालेका छन् । कुनै समय सुनसान बनेको उद्योग परिसरमा फेरि मेसिनको आवाज गुञ्जिएको छ, जहाँ विभिन्न रंगका कपडा बुन्ने परीक्षण भइरहेको छ ।
विगत दुई महिनादेखि नेपाली सेनाको टोली र वरिष्ठ मेकानिकको टोली मेसिन मर्मतमा व्यस्त छ । उद्योगमा रहेका ४ सय ८८ वटा लुममध्ये हालसम्म १० वटा लुम मर्मत गरेर कपडा उत्पादन सुरु गरिएको छ । बाँकी लुमहरू पनि मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको सेनाको भनाई छ ।
लामो समयदेखि प्रयोगविहीन रहेका मेसिनहरू मर्मत गरेर चलाउनु आफैँमा चुनौतीपूर्ण काम हो । अहिले खिया लागेका पार्टपुर्जा फेर्नेदेखि विद्युत् प्रणाली र मेसिनको प्राविधिक परीक्षणसम्मको काम भइरहेको छ । १० वटा लुम मर्मत गरी सञ्चालनमा ल्याइएको र बाँकी मेसिन पनि पूर्ण रूपमा नबिग्रिएको प्राविधिकहरु बताउँछन् । आवश्यक स्रोत, साधन र समय उपलब्ध गराएर सरकारले चासो दिने हो भने उद्योगमा रहेका सबै लुम सञ्चालनमा ल्याउन सकिने उनीहरूको विश्वास छ ।
चीन सरकारको सहयोगमा २०३२ सालमा स्थापना गरिएको हेटौंडा कपडा उद्योगले २०३५ सालबाट औपचारिक रुपमा उत्पादन सुरु गरेको हो । सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग पूर्ण क्षमतामा संचालन हुँदा दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता थियो ।
धागो उत्पादन गर्ने बाहेक कपडा बुन्ने लुमहरू मात्रै मर्मत गरेर सञ्चालनमा ल्याउन सके उद्योगमा एक–डेढ सय जनाले प्रत्यक्ष रोजगारी पाउने स्थानीय रामकृष्ण खड्गी बताउँछन् । हेटौंडा कपडा उद्योग सञ्चालनमा रहँदा लामो समय काम गरेका खड्की अहिले भने आफूले वर्षौँ काम गरेको यही उद्योगका पुराना मेसिन मर्मतमा जुटिरहेका छन् ।
२०५७ साल फागुन १ गतेदेखि हेटौडा कपडा उद्योग पूर्णरूपमा बन्द भएको थियो । बन्द भएका उद्योगहरु सञ्चालन गर्न भन्दै वर्तमान सरकार कस्सिएको छ । पुराना मेसिनको परीक्षण र परीक्षण उत्पादनका लागि हालसम्म ३३ लाख रुपैयाँ मात्रै खर्च भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी छ । शनिवार विहानै उद्योगको परिक्षण उत्पादनको अनुगमन गर्न आइपुगेकी उद्योग मन्त्री गौरी कुमारी यादवले थोरै बजेटले ठुलो नतिजा निकाल्न सकिएको बताइन् ।
एक सिफ्टबाट सुरु भएको हेटौंडा कपडा उद्योग २०३९ सालदेखि तीन सिफ्टमा सञ्चालन हुँदै वार्षिक १ करोड १० लाख मिटर कपडा उत्पादन गर्ने क्षमतामा पुगेको थियो । तर, बढ्दो राजनीतिक हस्तक्षेप, कर्मचारी आन्दोलन र कमजोर व्यवस्थापनका कारण उद्योग घाटामा जान थाल्यो । अन्ततः २०५७ साल फागुन १ गतेदेखि उद्योग पूर्ण रूपमा बन्द भयो ।
त्यसपछि पटक–पटक पुनः सञ्चालनको प्रयास भए पनि सफल हुन सकेन । अहिले भने २६ वर्षपछि १० वटा लुम मर्मत गरेर परीक्षण उत्पादन सुरु गरिएको छ । कपडा उद्योगको हालको संरचना १६५ रोपनी क्षेत्रफल रहेको छ । हाल यस उद्योग औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको छ भने उद्योग परिसरमा सशस्त्र प्रहरी बलको क्याम्प खडा गरिएको छ ।
