काठमडौं । तिसा शाक्य मिस नेवाः ११४६ बनेकी छिन् । शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित मिस नेवाः प्रतियोगिताको १९औँ संस्करणमा शाक्य उत्कृष्ट प्रतियोगीका रूपमा छनोट भएकी हुन् । प्रतियोगितामा सारिका महर्जन फस्ट रनरअप र जेसिका श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए ।
नेपलिज फेसन हाउस (एनएफएच) इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगितामा १७ जना युवतीको सहभागिता रहेको थियो । आयोजकका अनुसार सहभागीहरूलाई प्रतियोगिताअघि दुई महिनासम्म विभिन्न विषयमा तालिम प्रदान गरिएको थियो । तालिममा व्यक्तित्व विकास, नेपाल भाषा, संस्कृति, कला, मौलिकता तथा प्रस्तुतीकरणलगायत विषय समेटिएका थिए ।
प्रतियोगिता नेपाल भाषा तथा नेवाः संस्कृति प्रवद्र्धन र उत्थान गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक हेमा मानन्धरले बताइन् । उनका अनुसार नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र मौलिक पहिचानसँग जोड्दै त्यसको संरक्षणमा सक्रिय बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्नेछ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर तथा पूर्व मिस नेवाः सुनिता डंगोलले नयाँ पुस्तामा नेवाः संस्कृति, मौलिकता र स्थानीय कला–संस्कृतिप्रति चेतना अभिवृद्धि गर्न यस्ता प्रतियोगिता सहयोगी माध्यम बन्ने बताइन् ।

नमूना कलेज तथा फेसन डिजाइनर टेक्नोलोजीकी प्रिन्सिपल ज्ञानी शोभा तुलाधरले प्रतियोगिताले युवापुस्तालाई आफ्नै मौलिक पहिचान र संस्कृति संरक्षणतर्फ प्रेरित गर्ने बताइन्। उनी प्रतियोगिताको निर्णायक मण्डलकी संयोजकसमेत थिइन् ।
निर्णायक मण्डलमा नमूना कलेजका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, नेपाल क्यान्सर अस्पतालका निर्देशक स्वरुपा श्रेष्ठ, अधिवक्ता लक्ष्मण श्रेष्ठ, डा। शिक्षिता श्रेष्ठ, न्यूज२४ टेलिभिजनका प्रस्तोता रोहन श्रेष्ठ, नेपाल लिपि गुठीका पूर्वअध्यक्ष अनिल स्थापित र समाजसेवी दिव्यलक्ष्मी बज्राचार्य रहेका थिए ।
कार्यक्रममा गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी, काठमाडौं महानगरपालिकाका विभिन्न जनप्रतिनिधि तथा नेवाः संस्कृति क्षेत्रका विज्ञहरूको सहभागिता थियो। प्रतियोगिताको मिडिया पार्टनर न्यूज २४ टेलिभिजन रहेको थियो ।



