काठमाडौं । उज्वेकिस्तानको चिकित्सा शास्त्र (मेडिसिन) शिक्षामा उच्च पदमा पुगेर योगदान दिइरहेका डा। किशन भण्डारीले अर्को ठूलो सफलता हात पारेका छन् । उज्वेकिस्तानको ’एसिया इन्टरनेसनल युनिभर्सिटीको चिकित्सा, सूचना प्रविधि तथा व्यापार र व्यवस्थापनलगायतका विभिन्न शैक्षिक कार्यक्रमहरूको डिनकोरुपमा नेतृत्व गर्दै आएका भण्डारीलाई युनिभर्सिटीले भाइस – रेक्टरमा बढुवा गरेको छ ।
काठमाडौंको बौद्धका डा. भण्डारीले नेपालमा कक्षा १२ को पढाइ पूरा गरेपछि सन् २००९ मा रुसमा चिकित्साशास्त्र ( मेडिसिन० अध्ययन गर्न छात्रवृत्ति प्राप्त गरेका थिए । उनले आफ्नो एमबीबीएस अध्ययन पूरा गरेपछि कीर्गिस्तान गएर थप अध्ययन गर्ने अवसर पाएका थिए । जहाँ धेरै नेपाली विद्यार्थीहरू स्नातकोत्तर तहको चिकित्सा शिक्षा हासिल गर्न पुग्ने गरेका छन् ।

स्टेट मेडिकल इन्स्टिच्युटमा उनले न्युरोसर्जरी र जनस्वास्थ्यमा स्नातकोत्तर उपाधि हासिल गरे । जहाँ उनले पेशागत जिम्मेवारी अगाडि बढाउने अवसर पनि पाए । उनी कीर्गिस्तानको स्टेट मेडिकल इन्स्टिच्युटको सहायक डिनको पदमा नियुक्त भए विदेशी विश्वविद्यालयबाट स्नातक गरेका व्यक्तिका लागि यो एक दुर्लभ पद थियो । यति मात्र नभइ उनी गैर आवाशीय नेपाली संघ एनआरएन कीर्गिस्तानको संस्थापक अध्यक्ष पनि बन्न पुगेका थिए ।
दुई वर्षअघि, शैक्षिक गुणस्तर र अस्पतालमा आधारित एकीकृत शिक्षामा उज्बेकिस्तानले दिएको बढ्दो प्राथमिकताबाट आकर्षित भई डा। भण्डारीले त्यहाँको प्रस्ताव स्वीकार गरेर एसिया इन्टरनेसनल युनिभर्सिटीमा चिकित्साशास्त्रको प्राध्यापनको जिम्मेवारी ग्रहण गरेका थिए । यो युनिभर्सिटीमा ९० वटा शैक्षिक कार्यक्रमहरू सञ्चालित छन् भने नेपालसहित १४ देशका ३३ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्।
डा। भण्डारी विगत दुई बर्षदेखि उज्बेकिस्तानको बुखारास्थित ’एसिया इन्टरनेसनल युनिभर्सिटीमा डिनको भूमिका रहेको अवस्थामा भाइस–रेक्टरमा बढुवा भएका छन् । युनिभर्सिटीले दिएको सम्मान र जिम्मेवारीलाई डा। भण्डारी समग्र नेपाल र नेपालीको सम्मान भएको बताएका छन् ।
एसिया इन्टरनेसनल युनिभर्सिटीमा चिकित्सा, सूचना प्रविधि तथा व्यापार र व्यवस्थापनलगायतका विभिन्न शैक्षिक कार्यक्रमहरूको नेतृत्व गर्दै आएका भण्डारीले अब थप महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने भएका छन् ।

डा. भण्डारीको पहलमा विगतको बर्षदेखि नेपालबाट दुई उत्कृष्ट विद्यार्थी छनोट गरी छात्रवृत्ति सुविधामा उज्वेकिस्तानमा चिकित्सा शास्त्रमा अध्ययनको अवसर पाउँदै आएका छन् । उज्वेकिस्तानमा डा। भण्डारीले पाएको यो सफलता र सम्मानले वास्तवमा नेपाली युवाको क्षमतालाई अन्तर्राष्ट्रिय रुपमा उजागर गरेको छ ।
भविष्यमा आफ्नै मुलुक नेपाल फर्केर चिकित्सा शिक्षाको क्षेत्रमा योगदान पुर्याउने योजना बनाएका डा। भण्डारीले अहिले पनि नियमित रुपमा बिभिन्न कार्यक्रहरु नेपाल ल्याउने गरेका छन् ।
