सप्तरी । सप्तरीमा घरायसी विवादमा आइतबार विहान अढाई बर्षीय बालिकाको विभत्स हत्या गरिएको छ । घरपछाडि रहेको झाडीमा हत्या गरि शव फालिएको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको छ । बालिकाको हत्यापछि अहिले गाउँ नै शोकमग्न भएको छ ।
बाराको जितपुर सिमरामा अढाइ वर्षीया गरिमा चौधरीको हत्या भएको एक साता नबित्दै आइतबार सप्तरीमा अर्की बालिका मारिएकी छन् । सप्तरीको शम्भुनाथ नगरपालिका–३ को मोहम्मद इरफानकी अढाई बर्षीया बालिका खुसी भनिने सानिया खातुनको हत्या भएको हो ।
आइतबार बिहान खेल्दाखेल्दै खुसी सम्पर्कबिहिन बनेपछि उनका आमा रुविना खातुनसहित परिवारले बजार क्षेत्रमा खोजतलास गरे । केही बेरमै बालिका फेला परिन् तर, मृत अवस्थामा । उनको घर पछाडिको झाडीमा खातुनको शव फेटिएको हो । उनका बुबा अहिले बैदेशिक रोजागारीको शिलशिलामा विदेशमा छन् । एक मात्र बच्चा खुसीको हत्या भएपछि उनी अहिले विछिप्त छिन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा बालिकाको हत्या घर परिवारकै सदस्यबाट भएको खुलेको छ । मृतक बालिकाकी सौतेली आमा मुस्कान भनिने जासमिन खातुनले नै उनको हत्या गरेको आशंका प्रहरीले गरेको छ । बालिका हत्या आशंकामा बालिकाकी सौतेनी आमा जास्मुमन खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको सप्तरी प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी अनुसन्धान तीब्र पारिएको छ ।
आफ्नो एकल सन्तान गुमाएपछि रुबिना अहिले पीडामा छिन् । बालिका हत्या प्रकरणमा निश्पक्ष छानबिन गरि हत्यारालाई कारबाहीको माग गर्दै सप्तरीमा स्थानीयले प्रदर्शनसमेत गरेका थिए ।
