काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढी तथा देशका विभिन्न स्थानमा गएको पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
विपद्को यस कठिन घडीमा प्रभावित परिवारहरूको पीडा न्यूनीकरण गर्न तथा उद्धार र राहत कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो। एक्स्ट्रिम इनर्जी ड्रिंक्सले सम्पूर्ण बाढी–पहिरो प्रभावित नागरिकहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
विपद्का क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कम्पनीले दिवंगतहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, आफ्नो ज्यानको जोखिम मोलेर उद्धार तथा राहत कार्यमा खटिनुभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित सरकारी एवं गैरसरकारी निकायहरूको योगदानप्रति कम्पनीले उच्च सम्मान व्यक्त गरेको छ।
कम्पनीले सामाजिक उत्तरदायित्वलाई सधैं आफ्नो महत्त्वपूर्ण प्राथमिकताका रूपमा आत्मसात् गर्दै आएको र राष्ट्रलाई अप्ठ्यारो परेको संकटपूर्ण परिस्थितिमा नागरिक र समुदायको साथमा उभिने प्रतिबद्धता जनाएको छ। आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।
