News 24 Television
चीनले भन्यो : ब्यारियर लेकको जोखिम घटाउन चुनौतिपूर्ण

काठमाडौं । चीनको केरुङ नाकामा गएको विनाशकारी पहिरोपछि उद्धार अभियान तीव्र पारिएको छ । पहिरोमा परी तीन जनाको मृत्यु भएको पुष्टि हुँदा ५५८ जना अझै बेपत्ता छन् । उद्धारका लागि ६८१ जना सुरक्षाकर्मी परिचालन गरिएका छन् । ड्रोन, हेलिकप्टर र विशेष उपकरणमार्फत खोजी जारी रहे पनि पहिरोले बनाएको ब्यारियर लेकले जोखिम थप बढाएको छ । 

चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) नाकामा गएको विनाशकारी पहिरोपछि बेपत्ताको खोजी तथा उद्धार कार्यलाई शुक्रवारदेखि थप तीव्र पारिएको छ । विकट हिमाली भू–भाग, अवरुद्ध सडक र पहिरोले थुनिएको नदीका कारण चुनौतीपूर्ण बनेको उद्धारमा चिनियाँ सुरक्षाकर्मी तथा विशेषज्ञ टोली लागि परेका छन् । 

चीनको राष्ट्रिय अग्नि तथा उद्धार प्रशासनका अनुसार शुक्रवार बिहान १० बजेसम्म ६ सय ८१ जना अग्नि नियन्त्रक तथा उद्धारकर्मी र ११३ वटा सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन भएका छन् । उद्धार तथा राहतका लागि ६ हजार ६ सय १२ थान उपकरण तथा आवश्यक सामग्री समेत जिरोङ गाउँतर्फ पठाइएको छ । नेपालतर्फबाट सुरु भएको पहिरो बुधवार बिहान जिरोङ काउन्टीको केरुङ नाकासम्म पुगेको थियो । 

बिहीवार बिहान ८ बजेसम्मको प्रारम्भिक विवरणअनुसार पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन् । दुई स्थानीय बासिन्दालाई भने उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ । उद्धार अभियानलाई तीव्रता दिन बिहीवार बिहानै १४१ जना उद्धारकर्मी र उच्च उचाइमा उडान भर्न सक्ने हेलिकप्टर घटनास्थल पुगेका थिए । 

त्यसै दिन अपराह्न चीनको विशेष खोज तथा उद्धार टोलीका थप १११ सदस्य जिरोङ पुगेका थिए । उद्धारलाई प्रभावकारी बनाउन तीनवटा विशेष टोलीले एकैसाथ काम गरिरहेका छन् । 

टोलीले रबरका डुङ्गामार्फत जलमार्ग, पैदलमार्फत दुर्गम हिमाली क्षेत्र र ड्रोनमार्फत हवाई निरीक्षण तथा राहत सामग्री ढुवानी गरिरहेको छ । टोलीले विपद् क्षेत्रको नक्साङ्कन, निरन्तर निगरानी र पहिरोका कारण बनेको ब्यारियर लेकको अवस्थाको अध्ययन गरिरहेको छ । प्राविधिक सहयोगका लागि आपत्कालीन व्यवस्थापन मन्त्रालयअन्तर्गतको सांघाई फायर रिसर्च इन्स्टिच्युटका १३ जना विज्ञ पनि घटनास्थल पुगेका छन् । 

त्यस्तै चीनको सरकारी स्वामित्वको इन्जिनियरिङ तथा उद्धार निकाय चीन आनेनले पनि १५ सदस्यीय विशेषज्ञ टोली परिचालन गरेको छ । 

टोलीले ड्रोन, पोर्टेबल स्याटेलाइट स्टेशन र मोबाइल सर्भिलेन्स क्यामरामार्फत अवरुद्ध सडक र ब्यारियर लेकको अवस्था अध्ययन गरिरहेको छ । 

उद्धारकर्मीका अनुसार नाकाभन्दा करिब तीन किलोमिटर माथिल्लो क्षेत्रमा थुप्रिएको लेदो र गेग्रान हटाउनुअघि ब्यारियर लेकबाट उत्पन्न हुनसक्ने जोखिम नियन्त्रण गर्नु अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ । बेपत्ताको संख्या ठूलो रहेकाले उद्धारकर्मीहरूले सम्भावित जोखिमबीच खोजी अभियानलाई निरन्तरता दिएका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update