News 24 Television
औद्योगिक घरानादेखि बैंकिङ क्षेत्रबाट करोडौंको सहयोग

काठमाडौं । भदौ १० गतेको भोटेकोशीमा आएको भीषण बाढीले ठूलो धनजनको क्षति भएपछि प्रधानमन्त्री राहत उद्धार कोषमा विभिन्न ठाउँबाट आर्थिक सहयोग संकलन भइरहेको छ । उद्योग–ब्यवसायी, बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वस्फूर्त सहयोग गरेका छन् । 

भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी र त्रिशुली नदीमा आएको आकस्मिक भीषणा बाढीले ठूलो धनजनको क्षति भएको छ । पाँचदिनदेखि उद्धारको काम जारी नै रहेको छ भने जलविद्युत आयोजनाका सुरुङहरुमा थुनिएका नागरिकको समेत अझै उद्धार हुन सकेको छैन । 

भोटेकोशीले बगाएको नागरिकको शव चितवन, नवलपुरदेखि भारत विहारसम्म नै शवहरु भेटिएका छन् । राहत तथा उद्धारको काम जारी नै रहेको अवस्थामा विभिन्न क्षेत्रबाट राहत तथा उद्धारका लागि अर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्था, औद्योगिक घराना तथा विभिन्न संघसंस्थाहरुबाट सरकारी कोषमा सहयोग संकलन गरिरहेका छन् । 

कसको कति सहयोग ? 

  -  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडबाट ४ करोड १ लाख रुपैयाँ । 

   -  जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) बाट ३ करोड रुपैयाँ । 

   -  सिद्धार्थ बैंक लिमिटेडबाट २ करोड ५१ लाख रुपैयाँ । 

    - अर्घाखाँची सिमेन्ट लिमिटेडबाट १ करोड ११ लाख रुपैयाँ । 

   -  हिमालयन बुलियन कम्पनीबाट १ करोड १ लाख रुपैयाँ  । 

   -  नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) बाट ५० लाख रूपैयाँ । 

    - व्यावसायिक घराना कयाल ग्रुपबाट २५ लाख रुपैयाँ । 

  -   एनसीसीएस ग्रुप अन्तर्गत नेसनल क्रिएटिभ को–एडु स्कुल, एनसीसीएस हायर सेकेन्डरी स्कुल र नेसनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस)बाट एकमुष्ठ १० लाख रुपैयाँ । 

    - श्रीकेश हेयर ओएलबाट १ लाख ११ हजार १०१ रुपैयाँ 

- प्रधानमन्त्री राहत तथा उद्धार कोषमा संकलन गरेका छन् । 

यस्तै, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शोको अन्तिम दिन आइतबार साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री भएका सम्पूर्ण टिकटको रकम बाढी तथा पहिरोपीडितलाई सहयोग गर्ने जनाएको छ । 

यसैगरी, नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु–याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ । २ वटा म्याभिक फोर प्रो, ५ वटा एयर थ्री एस एफएमसी आरसी टु, २ वटा मिनी फाइभ प्रो प्लस एफएमसी आरसी टु, ६ वटा लिटो वान प्लस एफएमसी आर थ्री तथा २ वटा लिटो एक्स वान एफएमसी आर टु ड्रोन हस्तान्तरण गरिएको हो । 

यस्तै, बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ रुपैयाँ सहयोग गरेको छ। आइतबार नै गायक सुशान्त केसीले पनि बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गरेका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update