News 24 Television
बाढी प्रभावितका लागि गैरआवासीय नेपालीका तर्फबाट धमाधम राहत रकम संकलन

काठमाडाैँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि गैरआवासीय नेपालीका तर्फबाट पनि धमाधम रकम संकलन भइरहेको छ । यसैबीच एनआरएन यूएसएका संरक्षक, आइसीसीका पूर्व सदस्य तथा ग्रेटर अस्टिन नेपाली समाजका अभियन्ता टंकराज रेग्मी (महेश) ले तीन लाख एक हजार रुपैया सिधै प्रधानमन्त्री राहत कोषमा जम्मा गराएका छन् ।

नेपाल सरकारको कोषमा प्रत्यक्ष नै रकम पठाउने सुविधा भएकाले कुनै पनि संघसंस्थाका खातामा रकम जम्मा गर्नुभन्दा सिधै कोषमा रकम जम्मा गर्दा पारदर्शिता कायम रहने विश्वास रेग्मीको छ । 

विपत्तिको यस कठिन घडीमा बाढीपीडितहरूको राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोगको हात अगाडि बढाउन आवश्यक रहेको एनआरएन रेग्मीको जोड छ । उनले सबैलाई आ–आफ्नो क्षमता अनुसार सहयोग गर्न उनले आग्रह समेत गरेका छन् । विपत्तिको समयमा एक नेपालीले अर्को नेपालीलाई साथ र सहयोग गर्नुपर्नेमा जोड दिँदै सबैलाई मानवीय सेवामा एकजुट हुन रेग्मीले सबैलाई अपिल पनि गरेका छन्  । 

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित भएका छन् । सरकारले संकलित राहत रकमको पारदर्शिता कायम गर्न एकद्धार निति लिए अनुसार अहिले सरकारी कोषमै सिधै रकम जम्मा गर्नेहरु बढेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update