News 24 Television
उद्यमी विष्णुप्रसाद पुडासैनीद्वारा बाढी पीडितका लागि ५१ लाख ५१ हजार १११ सहयोग

काठमाडौं ।  नेपालले हालै व्यहोरेको भीषण प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएका बेला नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनी राहत सामग्री र सहयोग बोकेर स्वदेश फर्किएका छन्।

दुबईस्थित ‘हाइड्रोजेट ग्लोबल टेक्नोलोजी एन्ड सर्भिस ग्रुप’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पुडासैनीले बाढीपीडितको राहत तथा पुनर्मार्ग निर्माणका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ५१ लाख ५१ हजार १११ हस्तान्तरण गरेका छन्।

काठमाडौँ आएर आफ्ना बुबा गोपीप्रसाद पुडासैनीको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकमको चेक हस्तान्तरण गर्दै उनले विदेशमा रहे पनि आफ्नो मन नेपालमै रहेको र संकटको बेला मातृभूमिलाई सहयोग गर्नु कर्तव्य भएको बताए। 

यस संकटको घडीमा संसारभर रहेका नेपालीहरूलाई एकजुट भई सहयोग गर्न आह्वान गर्दै उनले पीडितहरूको निरन्तर सहयोगका लागि परिवार र कम्पनीको संयुक्त पहलमा नेपालमा एक निजी पारिवारिक फाउन्डेसन समेत स्थापना गरेका छन्।

हेटौँडाबाट सुरु भएको पुडासैनीको व्यावसायिक यात्रा परम्परागत वैदेशिक रोजगारीभन्दा फरक र प्रेरणादायी छ। करीब १९ वर्ष अघि संयुक्त अरब इमिरेट्स (यूएई) पुग्दा सामान्य कामबाट यात्रा थालेका उनले आफ्नै मेहनत र अध्ययनबाट प्राविधिक ज्ञान हासिल गरे। पाइप लाइन, ट्याङ्की र ढल व्यवस्थापन जस्ता जटिल पूर्वाधारको अनुभवलाई प्रयोग गर्दै उनले सन् २०१५ मा दुबईमा ‘हाइड्रोजेट’ को स्थापना गरे। 

खाडीको उच्च तापमान र विशिष्ट भौगोलिक आवश्यकतालाई ध्यानमा राख्दै उनले आफ्नै ब्रान्डका उपकरणीय यन्त्रहरू, बिना सडक खनी भूगर्भभित्रका पाइपलाइन मर्मत गर्ने ट्रेन्चलेस   प्रविधि, विशेष मर्मत रसायन र जोखिमपूर्ण कामका लागि रोबोटिक प्रणालीको विकास गरेका छन्।

गुणस्तर, गति र लागतलाई प्राथमिकता दिँदै अघि बढेको उनको कम्पनी हाल (यूएई), ओमान र कतारमा विस्तार भइसकेको छ भने साउदी अरेबिया, कुवेत, अमेरिका र क्यानडाका कम्पनीहरूसँग पनि सहकार्य भइरहेको छ। 

१५ भन्दा बढी अनुभवी इन्जिनियरहरूसहित बहुराष्ट्रिय जनशक्तिलाई रोजगारी दिएका पुडासैनीले नेपालमा तीव्र सहरीकरणसँगै बढ्दै गएको ढल व्यवस्थापन, नदी तथा ताल सफाइ र भूगर्भीय पाइपलाइन मर्मतका लागि वातावरणमैत्री तथा आधुनिक प्रविधि भित्र्याउने लक्ष्य राखेका छन्। 

वैदेशिक रोजगारीमा श्रम मात्र होइन, सिकेको सीप, अनुभव र प्रविधिलाई उद्यममा बदलेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण उनले प्रस्तुत गरेका छन्।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update