नुवाकोट । भोटेकोशीको बाढीले त्रिशूली नदीमाथिको दर्शनटार पुल बगाएपछि तारकेश्वर–४ दर्शनटार र बेलकोटगढी–७ रातमाटे जोड्ने स्थानमा बेलिब्रिज निर्माणको सम्भावना देखिएको छ।
१४३ मिटर लामो पुल बगे पनि दुवैतर्फका पिल्लर अझै कायम छन्। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले पुल पाइलिङ प्रणालीबाट बनेकाले जग सुरक्षित रहेको अवस्थामा पुरानै संरचनाको आधारमा पुल पुनर्निर्माण गर्न सकिने बताउनुभयो।

“जग सुरक्षित रहेको अवस्थामा सोही पाइलिङ क्यापबाट पिल्लर पुनःजोडेर पुरानै स्थानमा पुल बनाउन सम्भव हुन्छ,” थापाले भन्नुभयो।
नुवाकोट–२ का सांसद डा. अच्युतम लामिछाने र तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले दर्शनटार–रातमाटे क्षेत्रको स्थलगत अवलोकन गरी बेलिब्रिज निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभएको छ।
तारकेश्वर–४ का वडाध्यक्ष हरि पौडेलले विद्यमान सडक सञ्जाल र पहुँचका कारण उक्त स्थान बेलिब्रिजका लागि उपयुक्त हुनसक्ने भन्दै तत्काल प्राविधिक तथा भूगर्भीय अध्ययन गर्न माग गर्नुभयो।


