मुस्ताङ । स्याउ भन्दासाथ नेपालीले मार्फाको स्याउ सम्झन्छन् । त्यही स्याउ राजधानीको रुपमा लिइने मार्फामा रहेको सरकारी स्वामित्वको शीतोष्ण बागवानी विकास केन्द्रले यस वर्ष स्याउ बजारमा पठाउने प्रकृया सबै चरण पार गरेसँगै अब बजारमा स्याउ आउने भएको छ ।
हिमालपारीको जिल्ला मुस्ताङको शीतोष्ण वागवानी विकास केन्द्र, मार्फाले यस वर्ष स्याउ २४ लाख ४१ हजार रुपैयाँमा स्याउ ठेक्का लगाएको छ ।
केन्द्रले १८ लाख २५ हजार रुपैयाँ न्यूनतम मूल्य कायम गरी टेण्डर आह्वान गरेकोमा प्रतिस्पर्धामार्फत आइताप्रसाद ज्वारचनले २४ लाख ४१ हजार रुपैयाँमा स्याउ खरिदको ठेक्का पाएका हुन् ।
केन्द्रले जारी गरेको सूचनाअनुसार स्याउ खरिदका लागि पाँचवटा टेण्डर परेको थियो । गत २३ भदौमा टेण्डर खोल्दा सबैभन्दा बढी रकम कबोल गर्ने ज्वारचनलाई ठेक्का परेको हो ।
पन्थका अनुसार टेण्डर स्वीकृत भएसँगै सम्झौताको प्रक्रिया अघि बढाइएको छ । सम्झौता सम्पन्न भएपछि ठेकेदारले केन्द्रको बगैँचामा उत्पादित स्याउ टिपेर बजारमा पठाउनेछन् । यस वर्ष केन्द्रले गत वर्षको तुलनामा स्याउ बिक्रीबाट उल्लेख्य बढी आम्दानी गर्ने भएको छ ।
गत वर्ष केन्द्रले स्याउ १५ लाख ९५ हजार रुपैयाँमा बिक्री गरेको थियो । यस वर्ष भने २४ लाख ४१ हजार रुपैयाँमा ठेक्का लागेसँगै गत वर्षभन्दा ८ लाख ४६ हजार रुपैयाँ बढी आम्दानी हुने भएको हो ।
शीतोष्ण वागवानी विकास केन्द्र, मार्फा मुस्ताङको हिमाली क्षेत्रमा फलफूल तथा शीतोष्ण बालीको विकास, उत्पादन, प्रविधि परीक्षण र प्रसारसँग सम्बन्धित महत्वपूर्ण सरकारी केन्द्रका रूपमा रहेको छ ।
केन्द्रले विशेषगरी स्याउलगायत शीतोष्ण फलफूलको उत्पादन तथा प्रविधि विकासमा काम गर्दै आएको छ । केन्द्रअन्तर्गत रहेको स्याउ बगैँचाको कुल क्षेत्रफल, उत्पादन क्षेत्र, स्याउका जात तथा यस वर्षको अनुमानित उत्पादनलगायत विवरणले मार्फाको स्याउ उत्पादनको वास्तविक अवस्था देखाउँछ ।
मार्फाका गाउँ मुखिया समेत रहेका ज्वारचनले अब टेण्डर प्रकृया पुरा भएको र सम्झौता सँगै स्याउ टिपेर बजार पठाउने बताए । स्याउ टिप्ने समय सुरु भएसँगै ठेकेदारले बगैँचाबाट स्याउ संकलन गरी बजारमा पठाउने तयारी गरेका छन्।मुस्ताङमा उत्पादित स्याउ स्थानीय बजारसँगै पोखरा, काठमाडौं लगायतका बजारमा समेत पुग्ने गरेको छ ।
यस वर्ष मुस्ताङमा स्याउ धेरै फलेको हुँदा बजारको माग अनुसारको स्याउ उपलब्ध हुने र दशैं ढिला भएको हुनाले पनि सबैले स्याउ पाउन सकिन्छ ।


